प्रदूषण नियन्त्रण गर्न स्थानीय जनप्रतिनिधिलाई सुझाव « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

प्रदूषण नियन्त्रण गर्न स्थानीय जनप्रतिनिधिलाई सुझाव


१६ जेष्ठ २०७९, सोमबार


बहुदलीय शासन प्रणाली रहेको हाम्रो मुलुकको स्थानीय तहमा जुनसुकै पार्टीको प्रतिनिधि वा स्वतन्त्र उम्मेदवार जसले विजय हासिल गरे पनि उक्त तहले जनप्रतिनिधि प्राप्त गर्दछ । मेयर, उपमेयर, गाउँपालिका प्रमुख, उपप्रमुख, वडाध्यक्ष, सदस्यहरू चुनिएर जनप्रतिनिधिको रूपमा आउनेछन् । जुन पार्टीको भएता पनि विजेता भए पश्चात् पार्टीको मात्र नभएर सम्पूर्ण वडाको गा.पा./न.पा.को नै प्रतिनिधित्व गर्नु प्रमुख दायित्व हुन्छ।

जनप्रतिनिधिले जनताको प्रतिनिधिको रूपमा आफ्नो भूमिका निभाउँदै गर्दा उद्योग, कृषि, शिक्षा, स्वास्थ्य, सडक, बिजुली, इन्टरनेट जस्ता विकासका पूर्वाधारमा ध्यान दिएर योजना बनाउदछन र सोही अनुरूप कार्य गर्दछन् । अर्थात् यी सँग सम्बन्धित कार्य सिस्टमबाट नै हुँदै जान्छ । जहाँ विकास हुन्छ त्यहाँ विकृति पनि हुन्छ । विकृति अर्थात् प्रदूषण । यसरी उत्पन्न हुने प्रदूषण रोक्नु, नियन्त्रण गर्नु वा प्रदूषण हुन नै नदिने गरी विकास निर्माणका कार्य गर्न सक्नु नै जनप्रतिनिधिको सही योग्यता/क्षमता हो ।

विकासका कार्यबाट उत्पन्न विकृतिलाई समयमै व्यवस्थापन गरिएन भने यसले विकराल रूप लिन्छ । तसर्थ जनप्रतिनिधिले विकासलाई मात्र होइन विकृतिलाई पनि व्यवस्थापन गर्ने गरी काम गर्नुपर्दछ । फोहोर मैला व्यवस्थापन एकदमै महत्त्वपूर्ण विषय हो । फोहोर व्यवस्थापन गर्नु भन्दा फोहोर नै नगर्नु उपयुक्त हुन्छ । यसका लागि सम्पूर्ण वडाले महत्त्वपूर्ण निर्णय लिनु पर्दछ । यसअघि पनि केही स्थानीय तहले यस विषयमा राम्रो कार्य गरेको पाइन्छ । केही स्थानीय तह, केही बजार व्यवस्थापन समितिले प्लास्टिक निषेध जस्ता कार्य गरेको र बजार एरियामा डस्वीनको प्रयोग गरेको पाइन्छ । अबको आवश्यकता ७५३ वटै स्थानीय तहले यस विषयमा ध्यान दिएर कार्य गर्नु पर्दछ । फोहोर सङ्कलन गर्ने , कुहिने/नकुहिने छुटाउने , पोहोरलाई नष्ट गर्ने, डम्पिङ साइडको निर्माण/व्यवस्थापन गर्ने जस्ता कुरामा ध्यान दिनु पर्दछ । डस्वीनको प्रयोग बजारमा मात्र नभएर गाउँघर चोक विद्यालय क्षेत्र लगायत सडक हाटबजार भिडभाड हुने सबै क्षेत्रमा डस्वीनको प्रयोग बढाउनु पर्दछ ।

१) प्लास्टिकको प्रयोगमा न्यूनीकरण

अहिलेको समयमा फाष्टफुडको प्रयोग बढेको छ । जस्तै बिस्कुट, चाउचाउ, भुजिया, आइसक्रिम, चकलेट आदि । रु १ मा पाउने चकलेट देखि लिएर दैनिक प्रयोग हुने चिनी, चियारङ, नुन, तेल, दूध, मासु लगायतका खाद्यान्नहरू प्लास्टिकमा प्याकिङ भएको भएको हुन्छ जुन हरेक नेपालीको भान्सामा पुगेको हुन्छ । उक्त प्लास्टिक दिनप्रतिदिन थुप्रिएर फोहोरको रूपमा परिणत हुन्छ । गाउँघरमा कुहिने फोहोर माटोमा मिलेर गएता पनि प्लास्टिक जन्य फोहोर जताततै फालेर वातावरण फोहोर हुनुको साथै माटोको उत्पादकत्व पनि घट्दै जान्छ । यस्ता नकुहिने प्लास्टिकजन्य फोहोर व्यवस्थापन गर्नु नै महत्त्वपूर्ण विषय हो ।

यसका लागि प्रत्येक वडाबाट प्रत्येक घरलाई डस्वीन दिने, वडाले फोहोर सङ्कलन स्थान तोक्ने प्रत्येक घर गाउँ टोलबाट सङ्कलन गर्ने सबै वडाबाट न.पा./गा.पा. ले फोहोर सङ्कलन गरी डम्पिङ साइडमा लगी नष्ट गर्ने कार्य गर्नुपर्दछ । प्लास्टिकको प्रयोग कम गर्न वैकल्पिक उपायबारे अवलम्बन गर्नु पर्दछ ।

१.१ डम्पिङ साइड बस्ती भन्दा टाढा हुनुपर्दछ । दूर भविष्यमा समेत मानव बस्तीलाई असर नगर्ने गरी डम्पिङ साइडको निर्माण गर्नुपर्दछ ।

१.२ डम्पिङ साइड व्यवस्थापन उचित तवरले वैज्ञानिक तवरले गरिनु पर्दछ । नवीकरणीय हुने फोहोर, कुहिने फोहोर ( मल बनाउने) , नकुहिने फोहोर( नष्ट हुने र नष्ट नहुने) बेग्लाबेग्लै छुट्टाएर व्यवस्थापन गर्नुपर्दछ ।

१.३ फोहोर थुप्रिएर समस्या सुरु हुन् भन्दा पहिले नै उचित योजना बनाएर कार्य सुरु गर्नु पर्दछ।

१.४ सहर बजारमा को मात्रै नभएर गाउँ घरमा समेत खोला नदीनालामा प्लास्टिक, फुटेको सिसा तथा अन्य फोहोर फाल्न बन्देज गर्नु पर्दछ ।

२) बढ्दो अव्यवस्थित सहरीकरण

विकेन्द्रीकरण सगसगै अहिले गाउँमा सडक निर्माण, विद्यालय क्याम्पस भवन निर्माण कार्य बढ्दै गएको पाइन्छ । योजना बिना खनिएका ग्रामीण सडकले किसानलाई केही सहज प्रदान गरेको भएता पनि उचित तरिकाले निर्माण हुन नसकेको कारण यसले पहिरो, क्षयीकरण, वन विनाश , पानीको मुहान प्रदूषण /विनाश जस्ता विकृति निम्त्याएको छ । बस्ती नजिक निर्माण भएका उद्योग / व्यवसायहरूले वायु प्रदूषण गराएका हुन्छन् ।

२.१ स्थानीय तहले बाटो बनाउँदा योजना बनाएर वातावरणलाई असर नपर्ने गरी गर्नु पर्दछ ।

२.२ सानो छोटो दुरीको बाटो निर्माण गर्दा , पानीको मुहान छेउको बाटो निर्माण गर्दा डोजरको प्रयोग भन्दा व्यक्तिले खन्न उपयुक्त हुन्छ जसले पानीको मुहानमा असर पर्न दिँदैन र बर्खामा हुने भुक्षयीकरणलाइ कम गर्छ ।

२.३ उद्योग फ्याक्ट्री मानव बस्तीदेखि टाढा खोल्नु पर्दछ । सञ्चालन गरेर विरोध भएसी सार्नुभन्दा सञ्चालन गर्ने अनुमति दिँदा नं विचार पुर्‍याउनुपर्छ ।

३) डाइपर तथा प्याड नष्ट गर्ने मेसिन

हरेक सामुदायिक विद्यालयमा छात्रा सुविधाका लागि नि:शुल्क सेनिटरि प्याड वितरण गर्न थालिएको छ तर विद्यालयमा प्याड कसरी व्यवस्थापन गर्ने त्यो विषयमा सिकाइएको छैन । महिला स्वास्थ्यको दृष्टिकोणले प्रयोग गरिन् सेनिटरि प्याड व्यवस्थापन नहुँदा फोहोर बढ्दै गएको पाइन्छ । विद्यालयमा मात्र नभएर आम महिलाले समेत प्रयोग गर्ने भएकोले यसको प्रयोग गर्ने सङ्ख्यामा बढ्दै गएको हुनाले यसको उचित व्यवस्थापन हुनुपर्दछ ।त्यस्तै नवजात शिशु देखि लिएर वयस्क बिरामीले समेत प्रयोग गर्न मिल्ने डाइपरको प्रयोग बढ्दै गएकोले फोहोर पनि बढेको छ । सहरी क्षेत्रमा डस्वीनमा फालिने र ग्रामीण क्षेत्रमा फोहोर सङ्कलन नहुने हुँदा जताततै फालिने यस्तो फोहोरले पक्कै पनि वातावरण प्रदूषण गर्ने गर्दछ ।

३.१ घर विद्यालय अस्पतालबाट निस्कने प्रयोग भई फोहोरको रूपमा रहेको डाइपर र सेनेटरी प्याडलाई नष्ट वा व्यवस्थापन गरी प्रदूषण कम गर्न सकिन्छ । प्याड र डाइपर नष्ट गर्ने तरिका वडागत रूपमा गाउँ घर विद्यालय टोलमा सिकाउने, नष्ट गर्ने मेसिनको प्रयोग हरेक विद्यालय, अस्पताल, सार्वजनिक स्थानमा गर्ने वा फोहोरको उचित व्यवस्थापन गर्ने ।

४) कृषिजन्य विकृति

चाँडो धनी हुने उद्देश्य , बढी कमाउने मनसायले रासायनिक मल, केमिकलको प्रयोग बढ्दै गरेको छ । जसले माटोको प्रदूषण , पानी प्रदूषण बढाउनुको साथै मानव स्वास्थ्यमा प्रतिकुल असर समेत पर्ने गर्दछ । विषयवस्तुको पूर्ण ज्ञानको अभाव, प्रयोग गर्ने तरिका थाहा नहुनु, कम आय आर्जन हुने भएकोले विज्ञ प्राविधिकको प्रयोग नगर्दा केमिकलको मात्रा/तरिका गलत हुन जान्छ । जसले उत्पादकत्व बढाएता पनि गुणस्तर भने घटाउने गर्दछ । त्यस्तै माटोको प्राकृतिक शक्तिमा क्षयीकरण हुँदै जान्छ ।

हालसम्म नेपालमा किसानद्वारा उत्पादित वस्तुको गुणस्तर मापन सकेको छैन । उत्पादित फलफूल र सागसब्जीमा प्रयोग भएका विषादीको मात्रा मापन गर्न सकेमा मात्र गलत तरिकाबाट प्रयोग गरिने केमिकल/विषादीको नियन्त्रण हुन सक्दछ ।खेतीमा लाग्ने किरा नष्ट गर्न , फल झर्न नदिन विषादीको प्रयोग भन्दा प्राकृतिक तरिका/ प्राङ्गारिक मलको प्रयोगमा जोड दिनु पर्दछ । यसको लागि वडा स्तरबाट नै प्रत्येक किसानको घरघर पुगी अनुगमन निरीक्षण गर्न आवश्यक छ ।

४.१ आवश्यक मल, बीउ बिजन, प्रविधि, कृषि औजार उपकरण तथा कृषि प्राविधिक समयमै निःशुल्क उपलब्ध गराउन सक्नु पर्दछ तब मात्र किसानको उत्पादन लागत घट्न जान्छ र विषादीको प्रयोगमा नियन्त्रण गर्न सकिन्छ । जसले माटो प्रदूषण कम गर्न मदत गर्दछ ।

५) सार्वजनिक सवारी साधनमा डस्वीनको प्रयोग

एक ठाउँबाट अर्को ठाउँको यात्रामा सवारी साधनको प्रयोग गर्दा पानी, चिज बल, चाउचाउ, चिप्स जस्ता खाद्यान्न खाइसकेपछि खोल/बोतल झ्यालबाट फाल्ने आम नेपालीको बानी सुधार्न सवारीसाधन भित्र डस्वीन राखिनु पर्दछ । कलेक्सन भएको फोहोर सवारी चालकले उचित ठाउँमा/बस पार्कका डस्वीनमा व्यवस्थापन गर्नु पर्दछ जसले सडक छेउछाउ हुने फोहोर नियन्त्रण गर्दछ ।बजारमा मात्र नभएर गाडी कुद्ने बाटोमा ठाउँ ठाउँमा डस्वीनको प्रयोग गर्नु पर्दछ। त्यसको सङ्कलन व्यवस्थापन सोही सडक पर्ने स्थानीय तहले लिनु पर्दछ । प्लास्टिकमा बमिट गरी गाडीको झ्यालबाट फाली वातावरण फोहोर गर्नु भन्दा सडकको छेउछेउमा ठाउँठाउँमा राखिएका डस्वीनमा फाल्नु उचित हुन्छ ।

६) अस्पताल/मेडिकलको फोहोर व्यवस्थापन

आफ्नो वडामा सञ्चालित सामुदायिक अस्पताल, प्राइभेट अस्पताल/क्लिनिक, प्राथमिक स्वास्थ्य चौकी, स्वास्थ्य उपचार गर्ने मेडिकल फार्मेसी, आयुर्वेदिक औषधालय जस्ता स्वास्थ्य प्रदायक संस्थाले सेवा प्रदान गर्ने क्रममा विभिन्न फोहोर निस्कने हुन्छ कतिपय औषधि/केमिकल हानिकारक पनि हुने गर्दछ । यस्ता संस्थाले कसरी फोहोर व्यवस्थापन गर्ने गरेको छ सो को अवलोकन गर्ने र व्यवस्थित नभएमा व्यवस्थित गर्न लगाउने गर्नु पर्दछ । र यीबाट निस्कने फोहोर समेत वडागत रूपमा नै व्यवस्थापन गर्न सकेमा प्रदूषण कम गर्न सकिन्छ ।

सकिन्छ सफा गरौँ, सकिँदैन भने फोहोर नगरौँ भन्ने नारालाई वडागत रूपमा प्रत्येक व्यक्तिमा लागु गरी नेपालीको स्वभावमा परिवर्तन ल्याउनु पर्दछ । चुनावमा घरदैलो कार्यक्रममा जसरी वडाको सबै घर समेटेर भोट मागिएको थियो त्यसरी नै प्रत्येक घर समेटेर प्रत्येक घरमा डस्वीनको प्रयोग गरी फोहोर सङ्कलन , व्यवस्थापन, नवीकरण, पुनः प्रयोग, नष्ट गर्ने जस्ता कार्य गरी भविष्यमा हुन सक्ने प्रदूषण वृद्धि ( अहिलेको काठमाडौँ जस्तो) लाई समयमै समाधान गर्न जनप्रतिनिधिको भूमिका नियमनकारी र विज्ञको रूपमा हुनुपर्दछ ।

जनप्रतिनिधिको बौद्धिक क्षमता,विगतको अनुभव, अध्ययन, अनुसन्धान, नेट/गुगलको प्रयोग आदिद्वारा जनप्रतिनिधिले फोहोर मैला व्यवस्थापन उचित तरिकाले गर्न सक्छन् र गर्नु पर्दछ पनि। आवश्यक पुँजी प्रविधिको लागि आन्तरिक स्रोत परिचालन गर्ने वा सङ्घीय/प्रदेश सरकार सँग समन्वय गर्न सक्दछन् । र यस कार्यमा सम्पूर्ण नेपाली जनताले पार्टी/व्यक्ति नहेरी साथ दिनु पर्दछ, सहयोग गर्नु पर्दछ ।

Tags :
प्रतिक्रिया दिनुहोस