सङ्घीय सरकारलाई गाउँपालिकाको चुनौती, अध्यक्षले भनिन् –आइतबार सेवा सञ्चालन रहन्छन् « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

सङ्घीय सरकारलाई गाउँपालिकाको चुनौती, अध्यक्षले भनिन् –आइतबार सेवा सञ्चालन रहन्छन्


१३ जेष्ठ २०७९, शुक्रबार


काठमाडौँ । सङ्घीय सरकारको दुई दिन सार्वजनिक बिदा दिने निर्णयलाई चौरीदेउराली गाउँपालिकाले भने कार्यान्वयन नगर्ने भएको छ । नवनिर्वाचित गाउँपालिका प्रमुख रेणुका चौलागाईले एक सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्मका लागि आइतबारसमेत सेवा सञ्चालन गर्ने जनाएकी हुन् ।

‘सातामा दुई दिन सार्वजनिक बिदा दिने व्यवस्था जेठ १ गतेदेखि लागूसमेत भइसकेको अवस्थामा पालिकाभित्र रहेका सरकारी, गैरसरकारी, बैङ्क तथा वित्तीय संस्थाहरूलेसमेत नियमित सेवा प्रवाह गर्नुपर्ने आवश्यकतालाई मध्यनजर गर्दै अर्को सूचना जारी नभएसम्मका लागि आइतबारसमेत उल्लेखित संस्थाबाट सेवाहरू सञ्चालनमा रहने सम्बन्धित सबैका लागि यो सूचना जारी गरिएको छ’ अध्यक्ष चौलागाईद्वारा हस्ताक्षरित सूचनामा भनिएको छ ।

गठबन्धनबाट उम्मेदवारी दिएकी चौलागाई नेपाल कम्युनिस्ट पार्टी(माओवादी केन्द्र) बाट निर्वाचित भएकी हुन । ६ हजार दुई सय २८ मत ल्याएर विजयी उनका प्रतिद्वन्द्वी नेकपा एमालेका राम लामाले ५ हजार चार सय ६३ मत पाएका थिए ।

पहिलो संविधान सभा सदस्यसमेत रहेकी उनी जिल्लाकै पहिलो महिला गाउँपालिका अध्यक्ष पनि हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस