४ विदेशस्थित नियोगका लागि काउन्सेलर र सहचारी सिफारिस « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

४ विदेशस्थित नियोगका लागि काउन्सेलर र सहचारी सिफारिस


१२ जेष्ठ २०७९, बिहिबार


काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नेपाली कार्यरत खाडीका साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, बहराइन, र कतारका लागि काउन्सेलर(श्रम) र श्रम सहचारी सिफारिस गरेको छ।

मन्त्रालयले साउदी अरेबिया, रियादको काउन्सेलरमा देवेन्द्र कार्की र संयुक्त अरब इमिरेट्सका लागि दीन बन्धु सुबेदीलाई सिफारिस गरेको हो।

कार्की श्रम तथा व्यवसायजन्य सुरक्षा विभाग, मिनभवनमा कार्यरत छन् भने सुबेदी वैदेशिक रोजगार बोर्डको सचिवालय, बबरमहलमा कार्यरत रहेका छन् ।

यस्तै बहराइनको श्रम सहचारीमा शाखा अधिकृत जमुना काफ्ले र कतारका लागि कृष्ण पौडेलको नाम सिफारिस भएको छ । काफ्ले र पौडेल दुवै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा कार्यरत छन् ।

उनीहरूलाई काउन्सेलर(श्रम) तथा सहकारी छनौट तथा नियुक्ति सम्बन्धी कार्यविधि तथा मापदण्ड–२०७३ बमोजिमको मूल्याङ्कनबाट मन्त्रिस्तरीय निर्णयले बुधवार सिफारिस गरिएको हो । माघ १९ गते एक सूचना प्रकाशित गर्दै ‘काउन्सेलर(श्रम) तथा श्रम सहकारी छनौट तथा नियुक्तिसम्बन्धी कार्यविधि तथा मापदण्ड–२०७३’ अनुसार आवेदन माग गरेको थियो ।

सम्बन्धित समाचार : चार मुलुकका लागि काउन्सेलर र श्रम सहचारीका लागि आवेदन माग

साउदी अरेबिया र संयुक्त अरब इमिरेट्सको काउन्सेलरमा क्रमशः जीवन कुमार राई र निर्मला थापा कार्यरत थिए भने बहराइन र कतारको श्रम सहचारीमा क्रमशः दामोदर दाहाल र कृष्ण प्रसाद खनाल रहेका थिए । उनीहरूको कार्यकाल सकिएसँगै नयाँ पठाइएको हो ।

वैदेशिक रोजगार ऐन, २०६४ ले श्रम काउन्सेलर र सहचारी नियुक्तिको व्यवस्था गरेको छ। ऐनको दफा ६८ को उपदफा (१) मा वैदेशिक रोजगारमा पाँच हजार वा सोभन्दा बढी कामदार पठाइएका मुलुकमा कम्तीमा राजपत्राङ्कित अधिकृतलाई श्रम सहचारी नियुक्त गर्ने व्यवस्था छ।

यस्तै, वैदेशिक रोजगार नियमावली, २०६४ ले श्रम सहचारी नियुक्त गर्दा एक हजार वा सोभन्दा बढी महिला कामदार पठाइएका मुलुकमा महिला श्रम सहचारी नियुक्त गर्नुपर्ने व्यवस्था गरेको छ।

काउन्सेलर सहचारीले नेपाली श्रमिकका समस्या समाधानका लागि नेपाल सरकारको प्रतिनिधित्व गर्दै सम्बन्धित मुलुकसँग संवाद गर्नेछन् । काउन्सेलर र सहचारीको दरबन्दी श्रम मन्त्रालयमै हुनेछ भने काम कारबाही परराष्ट्र मन्त्रालयमार्फत गर्नुपर्नेछ। उनीहरूले प्रत्येक महिना श्रम मन्त्रालयमा मासिक प्रगति विवरण पठाउनु पर्नेछ।

श्रम सहचारीले नेपाली कामदार रहेका मुलुकको श्रम तथा रोजगारको स्थिति, अध्यागमनसम्बन्धी तथ्यगत जानकारी तथा त्यस देशले श्रम तथा अन्तर्राष्ट्रिय मानवअधिकार तथा कामदारको हित संरक्षणार्थ चालेका कदमबारे नेपाल सरकारलाई जानकारी दिनुपर्ने छ।

यस्तै कामदार, रोजगारदाता संस्था वा इजाजतपत्रवालाबीच कुनै विवाद उत्पन्न भएमा समस्या समाधान गर्न सहयोग गर्ने र वैदेशिक रोजगारको क्रममा अलपत्र अवस्थामा परेका कामदारलाई स्वदेश फिर्ता गर्न गराउन आवश्यक व्यवस्था गर्नुपर्ने छ।

त्यस्तै, सम्बन्धित देशमा नेपाली कामदारको सीपअनुसारको काम उपलब्ध हुने भएमा सोसम्बन्धी जानकारी नेपाल सरकारलाई उपलब्ध गराउने, प्राकृतिक विपत्तिमा परेका वा कुनै कारणवश मृत्यु भएका कामदारको शव सम्बन्धित मुलुक वा रोजगारदाता संस्थाको सहयोगमा स्वदेश फिर्ता पठाउन पहल गर्ने, नेपालबाट कामदार आपूर्ति गर्न सरकारी स्तरमा द्विपक्षीय सम्झौता गर्न प्रयास गर्नुपर्नेछ।

कामदारलाई आवश्यक परामर्श प्रदान गर्ने र निजलाई सम्झौतामा उल्लिखित कार्यबाहेक अन्य कार्य गर्न निरुत्साहित गर्ने, कामदारको लागि असर पार्न सक्ने क्रियाकलापको सुपरिवेक्षण गर्नुपर्नेछ।

हाल दक्षिण कोरिया, संयुक्त अरव इमिरेट्स, कतार, साउदी अरेबिया र मलेसियामा काउन्सेलर रहेका छन् भने संयुक्त अरब इमिरेट्स, कतार, साउदी, मलेसिया, कुवेत, ओमान र बहराईन गरी ७ वटा नियोगहरुमा श्रम सहचारी कार्यरत छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस