अब १८ पालिकाको मात्रै अन्तिम नतिजा आउन बाँकी, कुन दलको अवस्था के ? « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

अब १८ पालिकाको मात्रै अन्तिम नतिजा आउन बाँकी, कुन दलको अवस्था के ?


१० जेष्ठ २०७९, मंगलबार


काठमाडौँ । स्थानीय तह निर्वाचन २०७९ को मत परिणाम आउने क्रम जारी छ। निर्वाचन आयोगको प्रणालीमा प्रविष्ट भएअनुसार १ महानगर, १० उपमहानगरसहित ७३४ स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक भएको छ।

५ महानगरपालिकासहित १८ पालिकाको अन्तिम परिणाम आउन बाँकी छ। २ वटा पालिकाको मतगणना अझै सुरु भएको छैन।
सार्वजनिक विवरणअनुसार नेपाली काँग्रेसले पालिका प्रमुखदेखि सदस्यसम्म सबैभन्दा बढी पालिकामा जित हात पारेको छ।

दोस्रोमा नेकपा एमाले छ भने तेस्रोमा नेकपा माओवादी केन्द्र छ।

अब आउन बाँकी रहेको पालिकामा प्रदेश १ बाट उदयपुरका दुई वटा पालिका, मधेस प्रदेशबाट रौतहटका ४, सिराहा, बारा र पर्साबाट १-१ पालिकाको अन्तिम नतिजा आउन बाँकी छ।

यस्तै बागमती प्रदेशबाट काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका र भरतपुर महानगरपालिका बाँकी छन्। भरतपुर महानगरमा माओवादी केन्द्रबाट रेनु दाहालको जित निश्चित भइसकेको छ ।

यस्तै गण्डकीबाट पोखरा महानगरपालिका बाँकी हुँदा लुम्बिनीबाट रुपन्देहीको तिलोत्तमा नगरपालिकाको अन्तिम मत परिणाम आउन बाँकी छ।

यस्तै कपिलवस्तुबाट महाराजगन्ज नगरपालिका र दाङबाट तुलसीपुर उपमहानगरपालिकामा अन्तिम परिणाम आउन बाँकी छ।

यस्तै सुदूर पश्चिम प्रदेशबाट बाजुराको बुढीगंगाको अन्तिम परिणाम आउन बाँकी छ।

बाँकी रहेका १८ मध्ये उदयपुरको त्रियुगा र बाजुराको बुढी गङ्गा नगरपालिकामा विवादका कारण मतगणना सुरु हुन सकेको छैन।

बाँकी १६ वटा पालिकामा भइरहेको गणना अनुसार नेपाली काँग्रेस र नेकपा एमालेले समान ४-४ पालिकामा अग्रता लिइरहेका छन्। जनता समाजवादी पार्टीले ३ पालिकामा अग्रता लिँदा माओवादी केन्द्रले २ वटा पालिकामा अग्रता लिएको छ।

एकीकृत समाजवादी, लोसपा र स्वतन्त्रले एक-एक पालिकामा अग्रता लिएका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस