डडेलधुरामा काँग्रेस चार र माओवादी केन्द्र दुई पालिका प्रमुखमा विजय « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

डडेलधुरामा काँग्रेस चार र माओवादी केन्द्र दुई पालिका प्रमुखमा विजय


३ जेष्ठ २०७९, मंगलबार


डडेलधुरा । सात वटा स्थानीय तह रहेको डडेल्धुराको छ वटा स्थानीय तहको मत परिणाम सार्वजनिक भएको छ ।

छ वटा स्थानीय तहको मत परिणाम सार्वजनिक हुँदा नेपाली काँग्रेसले चार र माओवादीले दुई स्थानीय तहको प्रमुखमा जीत हात पारेको छ ।

परशुराम नगरपालिकाको अन्तिम मत परिणाम आउन बाँकी रहेको छ । अमरगढी नगरपालिका प्रमुखमा अमरगढी नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेस विजयी भएको छ ।

नेपाली काँग्रेस (बिपी) र नेकपा एमालेको गठबन्धनका उम्मेदवारलाई हराउँदै नगरप्रमुखमा डिल्लीराज जोशी र उपप्रमुखमा पार्वती झुकाल निर्वाचित भएका हुन् ।

काँग्रेस (बिपी) र एमालेका गठबन्धनका उम्मेदवार हरि भट्टलाई हराउँदै प्रमुखमा जोशी र गठबन्धनकै उम्मेदवार यज्ञराज अवस्थीलाई हराउँदै झुकाल निर्वाचित भएका हुन् ।

प्रमुखमा निर्वाचित जोशीले तीन हजार ६१९ मत ल्याएका छन् । उनका प्रतिद्वन्द्वी भट्टले तीन हजार ४२६ मत प्राप्त गरेका छन् ।

उपप्रमुखमा विजयी झुकालले तीन हजार ६७८ मत ल्याउँदा उनका प्रतिद्वन्द्वी यज्ञराज अवस्थीले तीन हजार ८५ मत पाए ।

अजयमेरु गाउँपालिका प्रमुखमा भट्ट

अजयमेरु गाउँपालिकाको अध्यक्षमा नेकपा (माओवादी केन्द्र) र उपाध्यक्षमा नेपाली काँग्रेस विजयी भएको छ ।

अध्यक्षमा माओवादी केन्द्रका उमेशप्रसाद भट्ट र उपाध्यक्षमा नेपाली काँग्रेसकी वसन्ती पाल निर्वाचित भएका हुन् ।

नेकपा एमालेका उम्मेदवार पदम पाललाई हराउँदै माओवादी केन्द्रका भट्ट र माओवादी केन्द्रकी उम्मेदवार कलावती भाणलाई पछि पार्दै काँग्रेसकी पाल विजयी भइन् ।

अध्यक्षमा निर्वाचित भट्टले दुई हजार ४६९ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी पालले दुई हजार २९७ मत ल्याइन् ।

विसं २०७४ को स्थानीय तह निर्वाचनमा पनि माओवादी केन्द्रका भट्ट नै विजयी भएका थिए ।

नवदुर्गा गाउँपालिका प्रमुखमा अवस्थी

नवदुर्गा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली काँग्रेस विजयी भएको छ ।

अध्यक्षमा नेपाली काँग्रेसबाट निर्वाचित लक्ष्मीप्रसाद अवस्थीले दुई हजार ८७९ मत प्राप्त गरिन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीका कविन्द्र विष्टले दुई हजार ६०६ मत ल्याए ।

उपाध्यक्षमा काँग्रेसकी निर्मला विष्टले तीन हजार २०८ मत ल्याई निर्वाचित भइन्। उनका निकटतम प्रतिद्वन्द्वी एकीकृत समाजवादीकी चन्द्रा रूपालीले दुई हजार ३६७ मत प्राप्त गरिन् ।

आलिताल गाउँपालिका प्रमुखमा पार्की

आलिताल गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र) विजयी भएको छ ।

अध्यक्षमा माओवादी केन्द्रबाट निर्वाचित शेरसिंह पार्कीले दुई हजार ३८९ मत प्राप्त गरे ।

उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका उम्मेदवारले दुई हजार २२४ मत पाएका थिए ।

उपाध्यक्षमा निर्वाचित मैनाकुमारी रावलले दुई हजार ६०२ मत प्राप्त गरिन् । काँग्रेसका उम्मेदवारले दुई हजार २४१ मत ल्याएकी थिइन् ।

गन्यापधुरा गाउँपालिका प्रमुखमा कार्की

गन्यापधुरा गाउँपालिकामा नेपाली काँग्रेसका अध्यक्ष र उपाध्यक्ष पदका उम्मेदवार निर्वाचित भएका छन् ।

काँग्रेसबाट अध्यक्षका उम्मेदवार इन्द्रबहादुर कार्कीले तीन हजार १८४ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेस (बिपी) का सुरेन्द्रबहादुर मालीले एक हजार ६०६ मत ल्याएका थिए ।

उपाध्यक्षका उम्मेदवार ज्ञानु सेटीले तीन हजार १३ मत प्राप्त गरी निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका इन्द्र महराले एक हजार ७०३ मत प्राप्त गरे ।

भागेश्वर गाउँपालिका प्रमुखमा चटौत

डडेलधुराको भागेश्वर गाउँपालिकामा नेपाली काँग्रेस विजयी भएको छ । काँग्रेसका हेमराज चटौत दुई हजार ३११ मतसहित पालिका अध्यक्षमा विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका रामबहादुर शाहीले एक हजार ७८ मत ल्याए । यस्तै उपाध्यक्षमा काँग्रेसकै पुष्पा ठकुराठी दुई हजार ३४८ मतसहित निर्वाचित भइन् । उनका प्रतिस्पर्धी माओवादी केन्द्रकी गीता भट्टले ८३२ मत मात्र प्राप्त गरिन् ।

Tags :
प्रतिक्रिया दिनुहोस