हुम्लामा हेलिकप्टरमार्फत मतपेटिका सङ्कलन « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

हुम्लामा हेलिकप्टरमार्फत मतपेटिका सङ्कलन


१ जेष्ठ २०७९, आइतबार


हुम्ला । नाम्खा गाउँपालिका–६ स्थित मतदानस्थलका मतपेटिका आज नेपाली सेनाको हेलिकप्टरमार्फत याल्वाङ्गस्थित मतगणनास्थलमा ल्याइएको छ ।

उक्त वडाको लिमीस्थित भृकुटी प्रावि जाङ्ग, सुनखानी प्रावि हल्जी र तिल गरी तीन स्थानका मतपेटिका हेलिकप्टरमार्फत नाम्खाको याल्वाङ्गको निर्वाचन केन्द्र ल्याइएको हो ।

न्यालु लेकमा हिमपातको कारण ती मतदानस्थलबाट मतपेटिका सङ्कलन गर्न सकिएको थिएन ।

ती तीन स्थानका मतपेटिका आज नेपाली सेनाको हेलीकप्टरमार्फत नाम्खाको याल्वाङ्गको निर्वाचन केन्द्रमा ल्याइएको मुख्य निर्वाचन अधिकृत जगतबहादुर पौडेलले जानकारी दिए ।

उनका अनुसार सङ्कलित मतपेटिकाको मतगणना कार्य आजै बेलुकासम्म सुरु गरिने छ ।

यसैबीच हुम्लाको दक्षिण भेगमा पर्ने खार्पुङनाथ गाउँपालिकाको अध्यक्षमा गठबन्धनका तर्फको उम्मेदवार नेपाली काँग्रेसका कर्णबहादुर रावलले एक हजार ८१० मत प्राप्त गरी विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी नेकपा (एमाले)का प्रकाशबहादुर शाही एक हजार १८५ मतले पराजित भएका हुन् ।

त्यस्तै उपाध्यक्षमा गठबन्धनकै तर्फबाट नेकपा (माओवादी)का ज्ञानबहादुर सिंह एक हजार ८७१ मतले विजयी भएका छन् ।

उनका प्रतिस्पर्धी नेकपा (एकीकृत समाजवादी)का शक्तिसिंह ऐडीले ८५० ल्याइ पराजित भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस