दुग्ध विकास संस्थानले सरकारको निर्णय नमान्ने, दुई दिने बिदा कार्यान्वयन नगर्न परिपत्र « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

दुग्ध विकास संस्थानले सरकारको निर्णय नमान्ने, दुई दिने बिदा कार्यान्वयन नगर्न परिपत्र


३१ बैशाख २०७९, शनिबार


काठमाडौँ । दुग्ध विकास संस्थानले सातामा दुई दिन बिदा दिने सरकारको पछिल्लो निर्णय कार्यान्वयन नगर्न मातहतका निकायलाई परिपत्र गरेको छ ।

नेपाल सरकारको स्वामित्वमा रहेको दुग्ध विकास संस्थानले गत मङ्गलवार सबै विभाग, आयोजना तथा पशु आहार उत्पादन कारखानालाई परिपत्र गर्दै कार्यालय समय तथा बिदा साबिक बमोजिम नै हुने भनेको हो ।

संस्थानका महाप्रबन्धक सञ्जीव झाद्वारा हस्ताक्षरित परिपत्रमा भनिएको छ मन्त्रिपरिषद्को सो निर्णयका सम्बन्धमा संस्थानको सञ्चालक समितिका श्रीमान् अध्यक्ष ज्यू तथा सदस्य सञ्चालक ज्यूलाई जानकारी गराउँदा कार्यालय समय र कार्यालय सञ्चालन तथा बिदा साबिक बमोजिम नै गर्ने गराउने व्यवस्था हुन सूचित गर्दछु ।

प्रचलित कर्मचारी प्रशासन विनियमावलीमा संस्थानको कार्यालय समय, कार्यालय सञ्चालन हुने तथा बिदा हुने दिनहरू समितिले निर्धारण गरे बमोजिम हुने व्यवस्था रहेको र दुग्ध विकास संस्थान दैनिक उत्पादनमूलक प्रकृतिको संस्था भएको संस्थानको भनाई छ ।

संस्थानको उक्त निर्णयसँगै कर्मचारीहरूले भने असन्तुष्टि जनाएका छन् । सबै सार्वजनिक निकायमा दुई दिने बिदा लागू हुँदा सरकारकै स्वामित्वमा रहेको संस्थानले त्यसलाई कार्यान्वयन नगर्नुले आफूहरू अचम्मित भएको उनीहरूको भनाई छ । सरकार ठुलो कि एउटा संस्थानको सञ्चालक समिति ठुलो ती कर्मचारीले प्रश्न गर्दै भने, हो, दैनिक कारोबार गर्ने निकाय भएकोले आलोपालो गरेर मिलाउन सकिन्छ तर सरकारी निर्णय नै काट्न त नपाइएला नि ?

यसबारे संस्थानका महाप्रबन्धक सञ्जीव झालाई सोधेको प्रश्नमा उनले अत्यावश्यक र दैनिक कारोबार गर्ने निकाय भएकोले दुई दिने बिदा कार्यान्वयन गर्न नसक्ने जवाफ दिए । दुई दिन बिदा दिँदा दैनिक अपरेसन कष्टसमेत बढ्ने बताउँदै झाले नेपाल सरकारले पनि परीक्षणमै बिदा दिएको र आफूहरूले पनि साबिक बमोजिम नै गर्ने निर्णय गरेको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस