कञ्चनपुरमा काँग्रेसको अग्रता « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

कञ्चनपुरमा काँग्रेसको अग्रता


३१ बैशाख २०७९, शनिबार


महेन्द्रनगर । कञ्चनपुरका नौ पालिकामध्ये नेपाली काँग्रेसले यहाँका चार पालिकामा जारी मतगणनामा अग्रता लिएको छ ।

यहाँको महाकाली पारीको दोधारा चाँदनी नगरपालिकामा नेपाली काँग्रेसबाट नगरप्रमुखका उम्मेदवार गोपाल भट्टले ६०० मत गणना हुँदा ३२६ र नेकपा (एमाले) का उम्मेदवार किशोर लिम्बूले २३९ मत प्राप्त गरेका छन् ।

त्यसै गरी यहाँको बेल्डाडी गाउँपालिकामा पनि नेपाली काँग्रेसबाट अध्यक्षका उम्मेदवार हरिषचन्द्र राना र उपाध्यक्षमा शान्ति नाथले सुरुआती अग्रता लिएका छन्, भने उनलाई एमालेका उम्मेदवारले पछ्याइरहेका छन् ।

बेल्डाडीमा अध्यक्षमा काँग्रेसका रानाले १९१ मत पाएका छन् भने उपाध्यक्षमा काँग्रेसकै नाथले २७२ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

त्यसै गरी सो पालिकामा एमालेका अध्यक्षका उम्मेदवार अक्कलबहादुर विष्टले ११६ र उपाध्यक्षमा फुलकुमारी रानाले २२३ मत प्राप्त गरेका छन् ।

त्यसै गरी यहाँको बेलौरी नगरमा नेकपा ९माओवादी केन्द्र०का नगरप्रमुखका उम्मेदवार पोतिलाल चौधरीले अग्रता लिएका छन् ।

बेलौरीमा एक हजार ३८३ मतगणना हुँदा माओवादीका चौधरीले ५२० मतसहित अग्रता लिएका छन् ।

सो पालिकामा एमालेका नगरप्रमुखका उम्मेदवार कमला बोहराले ४२४ मत ल्याएकी छन्, भने नेपाली काँग्रेसबाट नगरप्रमुखका उम्मेदवार बनेका होसियार विष्टले ३४० मत प्राप्त गरेका छन् ।

उता लालझाडी गाउँपालिकामा नेपाली काँग्रेसबाट अध्यक्ष पदका उम्मेदवार बनेका श्रीकृष्ण रानाले अग्रता लिएका छन् । यहाँ वडा नं ६ मा वडाध्यक्षसहित प्यानल काँग्रेसको विजयी भइसकेको छ ।

हालसम्मको गणनाअनुसार काँग्रेसका श्रीकृष्णले ६०१ मत, एमालेका अध्यक्षका उम्मेदवार निर्मल रानाले ५५२ मत र माओवादीका अध्यक्षका उम्मेदवार मदन सेन बडायकले ४४३ मत प्राप्त गरेका छन् ।

त्यसै गरी भीमदत्त नगरमा पनि नेपाली काँग्रेसका उम्मेदवार पदम बोगटीले नगर प्रमुख पदमा सुरुआती अग्रता लिएका छन् ।

यहाँ एक सय मतगणना हुँदा काँग्रेसका उम्मेदवार बोगटीले ५३ र एमालेका नगरप्रमुखका उम्मेदवार महेश पन्तले १४ मत प्राप्त गरेका छन् । नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार राजेन्द्र पाण्डेयले १५ मत प्राप्त गरेका छन् ।

त्यसै गरी यहाँको बेदकोट र शुक्लाफाँटा नगरमासमेत गणना सुरु भएको छ । भने अन्य पालिकामा पनि शनिबार दिउँसोदेखि गणनाको तयारी गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस