आज देशका विभिन्न भागमा पानी पर्ने सम्भावना, मतपेटिकालगायत निर्वाचन सामाग्री सुरक्षित गर्न निर्देशन « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

आज देशका विभिन्न भागमा पानी पर्ने सम्भावना, मतपेटिकालगायत निर्वाचन सामाग्री सुरक्षित गर्न निर्देशन


३० बैशाख २०७९, शुक्रबार


काठमाडौँ । देशका विभिन्न भागमा आज पानी पर्ने सम्भावना रहेको छ । आज दिउँसो प्रदेश-१, मधेस प्रदेश र वाग्मती प्रदेशमा सामान्य बदली रहनेछ । अन्य प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

प्रदेश–१, वाग्मती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । अन्य प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

आज राति प्रदेश-१ मा सामान्य बदली र देशका अन्य प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । प्रदेश-१ का केही स्थानमा र वाग्मती र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

हाल नेपालमा दक्षिण बङ्गालको खाडीमा विकसित भएको ‘असानी’को प्रभाव रहेको छ । यद्यपि, यो केही कमजोर भइसकेको छ । यो प्रणालीको आंशिक प्रभाव मात्र नेपालमा परेको छ ।

पहाडी जिल्ला काठमाडौं, भक्तपुर, ललितपुर, पोखरा, कास्की, बागलुङ, पर्वत, तनहुँ, रसुवा, सिन्धुपाल्चोकलगायत जिल्लामा पानी पर्ने देखिएको वरिष्ठ मौसमविद् वरुण पौडेलले बताएका छन् । यद्यपि, मनसुन सिजन सुरु नभइसकेका कारण बिहानदेखि बेलुकासम्म भने पानी पर्ने छैन । आधा घण्टा एक घण्टामै रोकिने प्रकृतिको पानी पर्ने उनको भनाइ छ ।

यता देशभरका स्थानीय तहका विपद् व्यवस्थापन कोष र विभागहरूलाई पानी परेको खण्डमा मतपेटिकालगायत निर्वाचन सामाग्री सुरक्षित गर्न त्रिपाललगायत सामाग्रीहरू उपलब्ध गराउन निर्वाचन आयोगले निर्देशन दिएको छ । यसका लागि आयोगले स्थानीय प्रशासन र सुरक्षा निकायलाई भनिसकेको छ । निर्वाचन सामग्री पानीबाट सुरक्षित राख्न खुला ठाउँमा राखिएका मतदान केन्द्रमा अनिवार्य त्रिपालको व्यवस्था गर्न आयोगले निर्देशन दिइसकेको छ ।

प्रतिक्रिया दिनुहोस