‘मौन अवधि’मा स्वतन्त्र उम्मेदवार शाहको विज्ञप्ति : मैले अरुको उम्मेदवारलाई समर्थन गरेको हल्ला चलाइयो « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

‘मौन अवधि’मा स्वतन्त्र उम्मेदवार शाहको विज्ञप्ति : मैले अरुको उम्मेदवारलाई समर्थन गरेको हल्ला चलाइयो


२९ बैशाख २०७९, बिहिबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकामा मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन शाहले आफू कुनै पार्टीमा प्रवेश गरेको वा कुनै पार्टीका उम्मेदवारलाई समर्थन गरेको हल्ला चलाइएको गुनासो गरेका छन् ।

मौन अवधिकै बीचमा विज्ञप्ति निकाल्दै उनले यस्तो गुनासो गरेका हुन् ।

आफू स्वतन्त्र रहेको भन्दै उनले मौन अवधिपूर्व मतदाताको घरदैलोमा प्रवेश गर्ने र मतदाताको समर्थन लिनेबाहेक अरु कुनै व्यवहार नगरेको स्पष्ट पारेका छन् ।

‘निर्वाचनभन्दा अगाडिको मौन अवधिको अर्थ हुन्छ, उम्मेदवारहरुले आफ्ना मतदाताहरुलाई भन्ने जति भनिसक्ने र मतदाताहरु स्वयमले शान्त भएर उत्तम उम्मेदवार छान्न समय लिने । यसले सही उम्मेदवारलाई मतदान गर्न सक्नु हुनेछ । लोकतन्त्रको यो उत्तम तरिका हो ।’ उनले विज्ञप्तिमा भनेका छन् ।

यही समयलाई कसैको अस्तित्व, विचार, सन्देश र वास्तविकतामाथि आक्रमण गर्नमा उपयोग गर्नु गैर कानुनी र अलोकतान्त्रिक त मात्र नभएर धेरै मतदाताहरुमाथिको अन्याय भएको उनको भनाइ छ ।

‘यो मतदाताहरुलाई भ्रममा राखेरै भए पनि जित्नै पर्ने सोचको उपज हो । यस्ता हल्ला र हल्ला फैलाउने तत्वहरुप्रति सरकार, निर्वाचन आयोग र स्वयम मतदाताहरु सजग रहन हार्दिक अपिल गर्दछौँ ।’ बालेनले भनेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस