काठमाडौँ उपत्यकाबाट एक दिनमा ८३ हजार बढी यात्रु बाहिरिए « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

काठमाडौँ उपत्यकाबाट एक दिनमा ८३ हजार बढी यात्रु बाहिरिए


२९ बैशाख २०७९, बिहिबार


काठमाडौँ। पछिल्ला ५ दिनमा मात्रै करिब ३ लाखभन्दा बढी व्यक्तिले सडकमार्ग हुँदै उपत्यका छाडेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार बुधबार चुनावका लागि भोट खसाल्न जाने यात्रुको उच्च चाप थियो । बुधबार मात्रै ८३ हजार ६६० जनाले काठमाडौं उपत्यका छाडेका थिए ।

बुधबार ११ हजार २३३ सवारीले काठमाडौँ विभिन्न नाका हुँदै काठमाडौँ छाडेका थिए । चुनाव नजिकिएसँगै उपत्यका भित्रिनेको सङ्ख्या घट्दै गर्दा बाहिरिने यात्रुको सङ्ख्या ह्वात्तै बढेको छ ।

२७ वैशाखमा मात्रै करिब ५९ हजार ८१ जनाले काठमाडौँ छाडेका थिए। २६ वैशाखमा यो सङ्ख्या ५० हजार ९३० थियो भने २५ गते ५५ हजार ७४६ जनाले काठमाडौँ छाडेका थिए । २४ गते ५३ हजार व्यक्तिले उपत्यका छाडेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जानकारी दिएको छ ।

उपत्यका भित्रिने यात्रुको सङ्ख्या भने केही दिन यता सामान्य अवस्थाको भन्दा कम रहेको महाशाखाले जानकारी दिएको छ । बुधबार ९ हजार २२१ वटा सवारीबाट ३५ हजार ६५७ यात्रु काठमाडौँ भित्रिएका छन् ।

बिहीबार पनि नाकाहरूमा बाहिरिने यात्रुको चाप छ । उपत्यका छाड्ने बसहरूमा पनि कोचाकोच गरेर यात्रुहरू घर फर्किएका छन् । काठमाडौँमै स्थायी बसोबास गरिरहेकाहरू पनि भोट हाल्न गाउँ फर्किंदैछन् ।

बिहीबार मध्यरातबाट सवारी साधन चल्न पाउने छैनन् ।

Tags :
प्रतिक्रिया दिनुहोस