सप्तरीमा मतदानस्थल परिवर्तन « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

सप्तरीमा मतदानस्थल परिवर्तन


२८ बैशाख २०७९, बुधबार


सप्तरी । जिल्लामा आज एउटा मतदानस्थल परिवर्तन गरिएको छ ।

जिल्ला निर्वाचन कार्यालय सप्तरीका अनुसार चार मतदान केन्द्र रहेको विष्णुपुर गाउँपालिकास्थित गाविस भवन जमुनी मधेपुराबाट मतदानस्थल फेरिएको हो ।

सो मतदानस्थललाई शारदा मावि जमुनी मधेपुरामा सारिएको जिल्ला निर्वाचन अधिकारी रमेश जोशीले जानकारी दिए ।

उनका अनुसार पुरानो ठाउँबाट उक्त मतदानस्थल एक सय मिटरको दूरीमा छ ।

पहिले तोकिएको मतदानस्थलमा स्थान अभावका कारण मतदान गर्न ज्यादै असहज हुने भएकाले निर्वाचन अधिकृतको कार्यालयमा बसेको सर्वदलीय बैठकले नयाँ स्थल कायम गरेको निर्वाचन अधिकृत यादवप्रसाद न्यौपाने बताए ।

आसन्न स्थानीय तहको निर्वाचनका लागि जिल्लामा २९७ मतदानस्थल निर्धारण गरिएको छ ।

यसमा २०८ अति संवेदनशील, ८५ संवेदनशील र चार मतदानस्थल सामान्य रहेको छ ।

जिल्लाको नौ नगरपालिका र नौ गाउँपालिकाको २९७ मतदानस्थलमा व्यवस्था गरिएको ५३६ मतदान केन्द्रका लागि ५३६ मतदान अधिकृत र यतिकै सङ्ख्यामा सहायक मतदान अधिकृत खटिएका छन् ।

मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी र कार्यालय सहयोगीहरु मतपत्र, मतपेटिकालगायत निर्वाचन सामग्री लिएर आ–आफ्नो मतदान केन्द्रमा हिँडिसकेको मुख्य निर्वाचन अधिकृत चन्द्रमणि ज्ञवालीले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस