प्रदेश नं १ मा निर्वाचनको अन्तिम तयारी « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

प्रदेश नं १ मा निर्वाचनको अन्तिम तयारी


२८ बैशाख २०७९, बुधबार


विराटनगर । यही वैशाख ३० गते सम्पन्न हुने स्थानीय तहको निर्वाचनका लागि प्रदेश नं १ का तराईका तीन जिल्ला र पहाडका दुई जिल्लाका प्रमुख जिल्ला अधिकारीले सुरक्षाका सबै प्रबन्ध मिलाएको जनाएका छन् ।

जिल्लामा शान्ति सुरक्षाको जिम्मेवारीमा रहेका प्रमुख जिल्ला अधिकारीले यो समयमा विशेष भूमिका निर्वाह गरिरहेका छन् ।

प्रदेश नं १ मा कूल १३७ पालिकामा एक हजार १५७ वडा छन् । एक महानगरपालिका र दुई उपमहानगरपालिका रहेको प्रदेशमा कूल १३७ प्रमुख, १३७ उपप्रमुख र एक हजार १५७ वडाध्यक्ष तथा चार हजार ६२८ वडा सदस्य निर्वाचित हुने प्रदेश निर्वाचन कार्यालय विराटनगरले जनाएको छ ।

नेपालको संविधान २०७२ जारी भएपछि भएको यो स्थानीय तह निर्वाचन दोस्रो हो । राजनीतिक दलहरुले मौन अवधि सुरु हुनुभन्दा अगावै प्रचारप्रसार, चुनावी सभा, घरदैलो कार्यक्रम, भेटघाट, र्‍याली, कोणसभा जस्ता कार्यक्रम सम्पन्न गरेका छन् । प्रचार प्रसारका कार्यहरु नभएको भए पनि यतिखेर मुलुक निर्वाचनमय भएको छ ।

निर्वाचनलाई भयरहित, स्वतन्त्र, निष्पक्ष एवं धाँधलीरहित तुल्याउन प्रमुख जिल्ला अधिकारीले आ–आफ्ना जिल्लाको भूगोल, जनसङख्या, मतदान केन्द्र र मतदान स्थलको वास्तविकतामा उभिएर सुरक्षा व्यवस्थापन मिलाएको सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीले जानकारी दिएका छन् ।

उनीहरुले सुरक्षाका लागि जिल्लाको वस्तुस्थितिलाई मिहिन ढङ्गले अध्ययन गरेर निर्वाचनमा सुरक्षा प्रबन्ध गरेको खोटाङका प्रमुख जिल्ला अधिकारी फणिन्द्र दाहालले बताए।

खोटाङमा पुरुष ७५ हजार छ र महिला ६८ हजार ७४६ गरी एक लाख ४३ हजार ७५२ जनाका लागि १३६ मतदान स्थल र १९४ केन्द्र तोकिएको छ ।

निर्वाचनको खटनमा नेपाल प्रहरीका ७००, सशस्त्र प्रहरीका २३२, म्यादी प्रहरी एक हजार ८७ जना र कर्मचारी एक हजार ३० जना परिचालन भएको प्रमुख जिल्ला अधिकारी दाहालले बताए ।

उनले यस जिल्लामा ५८ स्थान संवेदनशील र ३५ स्थान अति संवेदनशील पहिचान गरी निर्वाचनमा सुरक्षाको उचित एवं मजबुत प्रबन्ध मिलाएकोले कुनै पनि अप्रिय घटना हुने सम्भावना न्यून छ भने ।

मोरङमा पुरुष तीन लाख ६३ हजार ४४८, महिला तीन लाख ५१ हजार ७६९, अन्य छ गरी जम्मा सात लाख १५ हजार २२३ मतदाताका लागि ३०० मतदान स्थल र ८२० मतदान केन्द्र कायम भएको छ ।

मोरङमा नेपाल प्रहरीका एक हजार ९७२, सशस्त्रका ६८६, म्यादी तीन हजार १२४ गरी कुल १३ हजार ६७ जना राष्ट्रसेवक कर्मचारी परिचालन भएको प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जानकारी दिए ।

उनले तीन घेरामा सुरक्षा निकाय परिचालन भएको, पहिलो घेरामा नेपाल प्रहरी, दोस्रोमा सशस्त्र प्रहरी र तेस्रोमा नेपाली सेनाको टोली बस्ने भएकाले कुनै पनि घटना हुन नदिने बताए।

यस्तै झापामा पुरुष तीन लाख २१ हजार ५२०, महिला तीन लाख २४ हजार ७०५ र अन्य नौ गरी जम्मा छ लाख ४५ हजार २३४ मतदाता, २८६ मतदान स्थल र ७५५ मतदान केन्द्र छन् ।

झापामा निर्वाचनका लागि नेपाल प्रहरीका एक हजार ९००, सशस्त्र प्रहरीका ७५५, म्यादी प्रहरी दुई हजार ९१६ र राष्ट्रसेवक कर्मचारी तीन हजार ८०० खटिएको प्रमुख जिल्ला अधिकारी छवि रिजालले जानकारी दिए ।

उनले निर्वाचनमा कुनै पनि अप्रिय घटना हुन नदिन विशेष सतर्कता पनि अपनाएको बताए । सुनसरीमा पुरुष दुई लाख ६९ हजार १४६, महिला दुई लाख ७५ हजार ७१७ र अन्य दुई गरी जम्मा पाँच लाख ३४ हजार ७६५ मतदाताका लागि १६६ मतदान स्थल र ५८१ मतदान केन्द्र निर्धारण भएको छ ।

निर्वाचनका लागि यहाँ नेपाल प्रहरीका एक हजार १६६, सशस्त्र प्रहरीका ५१२, म्यादी प्रहरी दुई हजार ६८ र कर्मचारी दुई हजार ९०५ जना खटिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।

निर्वाचनको अहिलेसम्मको स्थिति हेर्दा निर्वाचन सौहार्दपूर्ण वातावरणमा सम्पन्न हुने विश्वास उनले व्यक्त गरे ।

यसै गरी, उदयपुरमा पुरुष एक लाख १२ हजार ८८५, महिला एक लाख १० हजार २५१ र अन्य दुई गरी दुई लाख २३ हजार ३८ जनाले ९८ मतदान स्थल र २५८ मतदान केन्द्र प्रयोग गर्ने भएका छन् ।

यहाँ पनि केही स्थान संवेदनशील र अति संवेदनशील रहेको प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले जानकारी दिए । उनले निर्वाचनमा सबै सुरक्षाको चाँजोपाजो मिलाइएको बताए । यहाँ म्यादी प्रहरी एक हजार पाँच जना परिचालन भएका छन् ।

निर्वाचनलाई उत्साहमय बनाउन तथा स्वतन्त्र, भयरहित, निष्पक्ष एवं मितव्ययी बनाउन प्रत्येक जिल्लामा प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखले मतदान स्थल र मतदान केन्द्रको अनुगमन एवं निरीक्षण गरी सुरक्षाका सबै उपाय अवलम्बन गरिएको मोरङका प्रमुख जिल्ला अधिकारी दाहालले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस