रिभर फल्स पावरको आइपीओ बिक्री खुला « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

रिभर फल्स पावरको आइपीओ बिक्री खुला


२८ बैशाख २०७९, बुधबार


काठमाडौँ । रिभर फल्स पावर लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयरको निष्कासन तथा बिक्री खुला गरेको छ ।

कम्पनीले आजदेखि प्राथमिक सार्वजनिक निष्कासन (आइपीओ) को बिक्री खुला गरेको हो ।

सर्वसाधारणका लागि कम्पनीले प्रतिकित्ता रु एक सय अङ्कित दरमा २७ लाख ३० हजार कित्ता शेयर बिक्री गर्ने प्रयोजनका लागि दरखास्त आह्वान गरेको छ ।

कम्पनीका अनुसार कूल २७ लाख ३० हजार कित्ता शेयरमध्ये दुई प्रतिशत अर्थात् ५४ हजार ६०० कित्ता कम्पनीका कर्मचारी र पाँच प्रतिशत अर्थात् एक लाख ३६ हजार ५०० कित्ता सामूहिक लगानी कोषलाई छुट्याई बाँकी रहेको २५ लाख ३८ हजार ९०० कित्ता शेयर खरिदका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

निष्कासित शेयरमा लगानीकर्ताले आजदेखि छिटोमा आगामी जेठ ४ सम्म न्यूनतम १० कित्तादेखि अधिकतम एक लाख कित्तासम्म आवेदन दिन पाउने छन् ।

यो समयमा माग बमोजिम आवेदन नआए आगामी जेठ ११ गतेसम्म निष्कासन खुला रहने कम्पनीले जनाएको छ ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सम्पूर्ण सी आस्बा सदस्य बैङ्क तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयका साथै अनलाइनमार्फत ‘मेरो शेयर’ प्रयोग गरेर शेयर खरिदका लागि आवेदन दिन सकिने कम्पनीको सार्वजनिक सूचनामा उल्लेख छ ।

कम्पनीले सङ्खुवासभाको धर्मदेवी नगरपालिकास्थित पिलुवा खोलाको पानी प्रयोग गरेर १० दशमलव ३० मेगावाट क्षमताको पिलुवा खोला साना जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।

आयोजनाको अनुमानित प्रति मे।वा लागत रु १८ करोड ६ लाख १५ हजार रहने कम्पनीले जनाएको छ । कम्पनीलाई केयर रेटिङ्ग संस्था केयर नेपाल लिमिटेडले केयर एनपी बीबी माइनस इस्युअर’ रेटिङ्ग प्रदान गरेको छ ।

यसअघि कम्पनीले आयोजना प्रभावित क्षेत्र सङ्खुवासभा जिल्लाका बासिन्दाका लागि साधारण शेयरको निष्कासन र बाँडफाँटसमेत गरिसकेको छ ।

कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस