श्रीलङ्कामा कर्फ्यु उल्लङ्घन गर्नेमाथि गोली चलाउन आदेश « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

श्रीलङ्कामा कर्फ्यु उल्लङ्घन गर्नेमाथि गोली चलाउन आदेश


२८ बैशाख २०७९, बुधबार


काठमाडौँ। श्रीलङ्कामा निवर्तमान प्रधानमन्त्री महिन्दा राजापाक्षेको एक घरलाई प्रदर्शनकारीले जलाइदिएपछि पुरै देशमा कर्फ्यु जारी गरिएको छ । कर्फ्यु उल्लङ्घन गर्नेहरूलाई देख्नासाथ गोली चलाउन आदेश दिइएको छ ।

आर्थिक सङ्कटका कारण श्रीलङ्काका नागरिकहरूले सरकार विरुद्ध प्रदर्शन गर्दै आएका छन् । सोमबारको यही प्रदर्शनमा एक जना सत्तारुढ दलका सांसदसहित पाँच जनाको मृत्यु भएपछि प्रधानमन्त्री महिन्दा राजापाक्षले पदबाट राजीनामा दिएका थिए । तर पनि श्रीलङ्काका नागरिकको आक्रोश थामिएको छैन ।

उनीहरूले मङ्गलवार राजापाक्षेको एक घरलाई जलाइदिएका छन् । सुरक्षाकर्मीले तत्कालै राजापाक्ष र उनका परिवारका सदस्यहरूलाई सो घरबाट उद्धार गरेको थियो । स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मीले अश्रुग्याँस र हवाई फायर गरेका थिए ।

प्रधानमन्त्री राजापाक्षे र उनको परिवारका सदस्यहरूलाई सुरक्षाकर्मीले घरबाट बाहिर निकालेर पूर्वोत्तर क्षेत्रमा रहेको त्रिनकोम नौ सैनिक अड्डामा लगेर राखेको बिबिसीले उल्लेख छ । मिडिया रिपोर्टका अनुसार सोमबार राति श्रीलङ्कामा राजनीतिक दलका ५० भन्दा बढी नेताहरूको घरमा आगजनी भएको छ । उनीहरूले पनि अन्यत्र शरण लिएर बसिरहेको बताइएको छ ।

श्रीलङ्कामा बुधबारसम्मका लागि कर्फ्यु जारी गरे पनि विरोध प्रदर्शन जारी छ । मङ्गलवार राजधानीका सडक सुनसान देखिए पनि रातिमा हिंसात्मक प्रदर्शनहरू भएका बिबिसीले जनाएको छ । सोमबारदेखि मङ्गलवारको अवधिमा सात जनाको मृत्यु भइसकेको छ भने २०० जनाभन्दा बढी घाइते भएका छन् ।

प्रदर्शनकारीले गाडीहरूमा आगजनी र तोडफोड गरेका छन् । राष्ट्रपति गोटामाया राजापाक्षेको घर अगाडि ठुलो सङ्ख्यामा प्रदर्शनकारी भेला भएका छन् । उनीहरूले उनको पनि राजीनामा माग्दै प्रदर्शन गरिरहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस