महामन्त्रीद्वय थापा र शर्माद्वारा काँग्रेस उम्मेदवारलाई मतदान गर्न अपिल « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

महामन्त्रीद्वय थापा र शर्माद्वारा काँग्रेस उम्मेदवारलाई मतदान गर्न अपिल


२७ बैशाख २०७९, मंगलबार


काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा काँग्रेसका उम्मेदवारलाई मतदान गरी विजयी गराउन अपिल गरेका छन् ।

उनीहरुले आज संयुक्त भिडियो अपिल जारी गर्दै रुख चिन्हमा आउने प्रत्येक मतको सदुपयोग गर्ने सम्पूर्ण मतदातालाई विश्वास दिलाएका छन् ।

उनीहरुले रुखमा मतदान गरे भनेर पश्चात्ताप गर्ने अवस्था कसैलाई पनि आउन नदिने दृढ प्रतिबद्धतासमेत व्यक्त गरेका छन् ।

महामन्त्री थापाले लाखौँ मतदाताले पहिलो पटक मतदान गर्न लागेको अवस्थामा त्यो मतदान गर्ने अधिकार त्यतिकै नआएको र त्यो अधिकारका लागि कुनै बेला थुप्रै तन्नेरीले चार तारे झन्डा बोकेर लडेको बारेमा सोच्न आग्रह गरेका छन् ।

अर्का महामन्त्री शर्माले आफूहरुको संविधानलाई बलियो बनाउने र समाजलाई बदल्ने महान् यात्रामा सबैलाई स्वागत गर्दै समुन्नतिका लागि सँगसँगै अघि बढ्नका लागि रुख चिन्हमा मतदान गर्न आग्रह गरेका छन्। साथै उनले कस्तो समाज र राजनीति चाहने भन्ने सम्बन्धमा मत दिनुअघि मनलाई सोध्नसमेत आग्रह गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस