मकवानपुरमा निर्वाचनका लागि तीन हजार २०० सुरक्षाकर्मी परिचालन « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

मकवानपुरमा निर्वाचनका लागि तीन हजार २०० सुरक्षाकर्मी परिचालन


२६ बैशाख २०७९, सोमबार


बागमती । स्थानीय तह निर्वाचनअन्तर्गत मकवानपुरमा यही वैशाख ३० हुन गइरहेको स्थानीय निर्वाचनलाई निष्पक्ष र भयरहित बनाउनका लागि तीन हजार २०० सुरक्षाकर्मी परिचालन गरिएको छ ।

मकवानपुरमा १० स्थानीय तहको निर्वाचनका लागि १६५ मतदान स्थल र ३५६ मतदान केन्द्र रहेकाले त्यसको सुरक्षाका लागि तीन हजार २०० सुरक्षाकर्मी परिचालन गरिएको बताइएको छ ।

शान्तिपूर्वक निर्वाचन गराउनका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, म्यादी प्रहरी र नेपाली सेनासमेत परिचालन गरिएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जानकारी दिए ।

मकवानपुरमा निर्वाचनका लागि प्रशासनद्धारा नेपाली सेना ५००, सशस्त्र प्रहरी ४००, नेपाल प्रहरी ९०० र म्यादी प्रहरी एक हजार ४०० परिचालित गरिएको हो । पहिलो घेरामा जनपद र म्यादी प्रहरी रहने छन् ।

दोस्रो घेरामा सशस्त्र प्रहरी र तेस्रो घेरा अर्थात् मतदान स्थल वरिपरी नेपाली सेना परिचालन गरिएको छ ।

सबै सुरक्षाकर्मी मतदान केन्द्रको सुरक्षा र गस्ती गर्ने लगायतको काम गर्ने बताइएको छ ।

नेपाल प्रहरी र म्यादी प्रहरी मतदान अधिकृत तथा सहायक मतदान अधिकृत र कर्मचारीसँग मतपत्र लगायतका सामग्री लिएर पठाउने तयारी सुरु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय हेटौँडाले जनाएको छ ।

यस्तै जिल्लाका स्थानीय तहमा पठाउनुपर्ने निर्वाचन सामग्री पठाउने कार्य भइरहेको प्रदेश निर्वाचन कार्यालयका निर्वाचन अधिकृत लुम्बनाथ पोखरेलले बताए ।

मकवानपुरमा एक लाख ४९ हजार ९५४ पुरुष र एक लाख ४४ हजार ९५९ महिला तथा छ जना तेस्रो लिङ्गी गरी कूल दुई लाख ९४ हजार ९१९ मतदाता रहेका छन् ।

त्यसमा ६५ हजार ५४ नयाँ मतदाता रहेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस