निर्वाचन देश दुर्घटना हुनबाट रोक्ने अवसर हो : लिङ्देन « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

निर्वाचन देश दुर्घटना हुनबाट रोक्ने अवसर हो : लिङ्देन


२५ बैशाख २०७९, आइतबार


मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले तीनै तहको निर्वाचन देशलाई दुर्घटनाबाट रोक्ने अवसरको रूपमा लिनुपर्ने बताएका छन् ।

अध्यक्ष लिङ्देनले आज हेटौँडामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले देशको आर्थिक अवस्था घुँडा टेक्ने अवस्थामा पुगेको बताउँदै तीन तहको निर्वाचन देशलाई दुर्घटनाबाट रोक्ने अवसरको रूपमा लिनुपर्ने बताए । उनले म मात्र सुध्रेर नहुने बताउँदै काँग्रेस, एमाले र माओवादी पनि सुध्रिन जरुरी रहेको जिकिर गरे । उनले भने, ‘यसबाट थाहा हुन्छ कि उहाँहरू जनताबाट कति टाढा भइसके ।’

राप्रपाका केन्द्रीय उपाध्यक्ष बुद्धिमान तामाङले हेटौँडा उपमहानगरपालिकामा यहाँका नेता र निर्वाचित जनप्रतिनिधिले डोजर र जग्गा पल्टिङको मात्र विकास गरेको टिप्पणी गरे । उनले आफूले हेटौँडामा स्वास्थ्यको समस्या धेरै समय अघिबाट देखेको तर यहाँका नेता र निर्वाचित जनप्रतिनिधिले समस्याको समाधानको लागि केही पहल नगरेको आरोप लगाए ।

उनले आफूलाई हेटौँडाको अस्पतालमा एमआरआई र सिटिस्क्यान समेत नहुने जानकारी आएको बताउँदै बागमती प्रदेशको राजधानी भएर पनि यहाँको जनप्रतिनिधिहरूले अस्पतालको विकास गर्न नसकेको आरोप लगाए ।

हेटौँडाको मेयरको लागि उम्मेदवार दीपकबहादुर सिंह उठाएको भन्दै सिंहको सक्षम टिमलाई जिताउन हेटौँडावासीलाई आग्रह गरे । हेटौँडा उपमहानगरपालिका मेयरमा उम्मेदवार बनेका दीपक सिंहले आफूलाई हेटौँडाको मेयरमा जिताउन अपिल गर्दै आफू मेयरमा निर्वाचित भए भ्रष्टाचार अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस