विधेयक पारित गरेर नागरिकता समस्या समाधान गर्छौँ : प्रधानमन्त्री देउवा « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

विधेयक पारित गरेर नागरिकता समस्या समाधान गर्छौँ : प्रधानमन्त्री देउवा


२५ बैशाख २०७९, आइतबार


जनकपुर । प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नागरिकतासम्बन्धी विधेयक पारित गरी नागरिकको समस्या समाधान गरिने बताएका छन् ।

पाँच दलीय गठबन्धनद्वारा हिजो (शनिबार) मधेस प्रदेशको राजधानी जनकपुरधाममा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले नागरिकता समस्या समाधानका लागि सरकारले नागरिकतासम्बन्धी विधेयक संसदमा पेस गरी पारित गरिने बताए ।

‘’नागरिकताको समस्या समाधानका लागि नागरिकतासम्बन्धी विधेयक संसद्मा प्रस्तुत गर्न हामीले खोज्यौँ’, प्रधानमन्त्री देउवाले भने, ‘तर एमालेले गर्दै आएको संसद् अवरुद्धका कारण विधेयक पेस गर्न सकेका छैनौँ ।’ यद्यपि अब बस्ने संसद्को बैठकमा विधेयक टेबल गरी पारित गरिने उनको भनाइ थियो ।

पाँच दलीय गठबन्धनलाई जोगाएर लैजानु अहिलेको आवश्यकता रहेको प्रसङ्ग उल्लेख गर्दै प्रधानमन्त्री देउवाले पार्टीको निर्देशन र गठबन्धनविरुद्ध जानेलाई तत्काल कारबाही गरिने बताए ।

‘पार्टीका नेता कार्यकर्ता हामी सबै अनुशासनमा बस्नुपर्छ’, उनले भने, ‘पार्टीको निर्देशन विपरीत बागी उम्मेदवारी दिने, गठबन्धनलाई हराउन मद्दत गर्ने कुरा सह्य हुँदैन, त्यस्तालाई तत्काल कारबाही गर्छौँ ।’ गठबन्धनलाई जोगाई राख्नुपर्छ भन्ने पार्टीको महाधिवेशन र केन्द्रीय समितिको म्याडेन्डअनुसार गठबन्धन भएकाले यस विरुद्ध कसैलाई जाने छुट छैन, उनको कथन थियो ।

जनताले ठुलो लडाइँ र सङ्घर्ष गरेर ल्याएको सङ्घीय लोकतान्त्रिक गणतन्त्र र सङ्घीयतालाई विगतमा कुल्चिने प्रयास भएकाले अझै पाँच दलीय गठबन्धनलाई निरन्तरता दिनु जरुरी रहेको प्रधानमन्त्री देउवाले उल्लेख गरे ।

नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ऐतिहासिक आवश्यकताका आधारमा गठबन्धन बनेकाले गठबन्धनलाई मजबुत बनाएर लैजान सकिए मात्र मुलुकमा राजनीतिक स्थायित्व र विकास सम्भव हुने बताए ।

तीनै तहको निर्वाचनमार्फत जनताको तागत लिई मुलुकमा राजनीतिक स्थायित्वसँगै विकास र समृद्धिको नयाँ युगको थालनी गर्ने सोचका साथ पाँच दलीय गठबन्धन बनेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले लोकतन्त्रको रक्षा गर्न, गणतन्त्रको सुदृढीकरणका लागि र जनताको इच्छा, आकाङ्क्षा पूरा गर्नका निम्ति तीनै तहको निर्वाचनमा गठबन्धनलाई निरन्तरता दिनुपर्ने उल्लेख गरे ।

गठबन्धनका साझा उम्मेदवारलाई जिताउन सकिए जनकपुरधामको स्वरुप परिवर्तन हुने विश्वास व्यक्त गर्दै उनले गठबन्धनका उम्मेदवारलाई विजयी बनाउन पाँचै दलका नेता कार्यकर्ताहरू एकजुट हुनुपर्नेमा जोड दिए ।

मधेसको मुद्दा सम्बोधन गर्न आफू प्रधानमन्त्री भएका बेला दुई पटक संविधान संशोधनको प्रस्ताव संसद्मा लगिए पनि एमालेका कारण संविधान संशोधन हुन नसकेको जिकिर गर्दै उनले संविधान संशोधन गरी मधेसका माग सम्बोधन गर्नुपर्ने बताए ।

सभामा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रतिगामी शक्तिविरुद्ध गठबन्धन भएकाले गठबन्धनलाई इमान्दारितापूर्वक जिताउनुपर्ने बताए ।

सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि र प्रतिगामीका विरुद्ध गठबन्धनलाई निरन्तरता दिनुको विकल्प नरहेको उल्लेख गर्दै अध्यक्ष यादवले गठबन्धन पक्षमा देशव्यापी रुपमा जनलहर बढ्दै गएको दाबीसमेत गरे ।

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गठबन्धनका साझा उम्मेदवारविरुद्ध घात र अन्तरघात गर्नेलाई पार्टीले कारबाही गर्ने बताए। ‘घात र अन्तरघातले पार्टी र गठबन्धनलाई कमजोर बनाउँछ’, वरिष्ठ नेता पौडेलले भने, ‘त्यसैले गठबन्धनविरुद्ध जाने जुनसुकै नेतालाई कारबाही हुन्छ ।’

जनकपुरधाम उपमहानगरपालिकामा बागी उम्मेदवारले जित्दै आएको इतिहास छ, तर अब त्यस्तो गर्नु हुँदैन, यसले कसैलाई भलो गर्दैन, उनको कथन थियो ।

नेपाली काँग्रेस धनुषाका सभापति योगेन्द्र पजियारको सभापतित्वमा आयोजित सभामा नेपाली काँग्रेसका सहमहामन्त्रीद्वय भीष्मराज आङ्गदम्बे, महेन्द्र यादव, नेकपा माओवादी केन्द्रका मधेस प्रदेश इन्चार्ज गणेश साह, नेपाली काँग्रेस मधेस प्रदेश संसदीय दलका नेता तथा मधेस प्रदेश सरकारका भौतिक पूर्वाधारमन्त्री रामसरोज यादव लगायतले राजनीतिक स्थायित्व र मुलुकको विकास, समृद्धिका लागि गठबन्धनका उम्मेदवारलाई जिताउनुपर्ने बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस