मुलुकमा सुशासन स्थापित गर्न राप्रपाले मात्र सक्छ : राजेन्द्र लिङ्देन « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

मुलुकमा सुशासन स्थापित गर्न राप्रपाले मात्र सक्छ : राजेन्द्र लिङ्देन


२४ बैशाख २०७९, शनिबार


पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो पार्टीले देशमा सुशासन स्थापित गर्ने र भ्रष्टाचार निर्मूल गर्ने महाअभियान लिएर अघि बढेको बताएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी, कास्कीले पोखराको मानवअधिकार चोकमा आज आयोजना गरेको विशेष चुनावी आमसभामा अध्यक्ष लिङ्देनले अन्य पार्टीले देशलाई भ्रष्टाचारमा चुर्लुम्म डुबाएको आरोप लगाउँदै राप्रपा मात्र देशलाई बचाउने र बनाउने पार्टी भएको दाबी गरे ।

उनले स्थानीय तहको निर्वाचनमा राप्रपाका उम्मेदवारलाई भोट हालेर राप्रपालाई सबै नागरिकको साझा पार्टी बनाउन आग्रह गरे ।

उनले भने, ‘पोखरामा हामीले सोचेजस्तो मत आउन सकेको छैन, अब भ्रष्टाचारमुक्त पोखरा बनाउने जिम्मा म लिन्छु राप्रपालाई भोट हाल्नुस्, यो सुन्दर नगरी हामी अझ सुन्दर बनाउने जिम्मा हामी लिन्छौँ ।’ लिङ्देनले अरू पार्टीका नेतामा दम्भ र अहम्ता हाबी हुँदै गएको र जनताप्रति उत्तरदायी हुन नसकेको जिकिर गर्दै एक चोटि राप्रपाको नेतृत्वलाई हेर्न आग्रह गरे ।

उनले अबको आफ्नो जिन्दगी इमान्दारिताको राजनीति गरेर मुलुकमा सुशासन स्थापित लागिपर्ने बताए । पछिल्लो समय राप्रपाप्रति जनताको विश्वास बढ्दै गएको दाबी गर्दै उनले अब राप्रपा ठुलो पार्टी बन्ने विश्वास व्यक्त गरे ।

राप्रपाकी नेत्री रेखा थापाले सबै जात, जाति, भाषाभाषीको न्याय, अधिकार र स्वतन्त्रताका लागि राप्रपा एक मात्र पार्टी भएको बताए । राप्रपाले महिला र बालबालिका ज्येष्ठ, युवा सबै सबैका मुद्दालाई सम्बोधन गरेर अघि बढ्ने उनको भनाइ थियो । कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी पोखरा महानगरको प्रमुखको उम्मेदवार बनेका शङ्कर खरालले अन्य पार्टीको नेतृत्व जनताले हेरिसकेकाले अब पर्यटकीय सहरलाई थप सुन्दर र भ्रष्टाचार मुक्त बनाउन आफ्नो पार्टीलाई मत दिन अपिल गरे ।

त्यसै गरी उपप्रमुखमा रञ्जना सेन पौडेलले आफूहरूले राष्ट्रियताको सवाल स्पष्ट धारणा लिएर जनतामाझ पुगेको बताउँदै आफूहरूलाई जनताका साथ रहने विश्वास व्यक्त गरे ।

सो अवसरमा राप्रपा युवा सङ्गठन कास्कीका अध्यक्ष विजयबहादुर भण्डारीको पहलमा चुनावी आमसभामा करिब ७०० जना युवाहरू पार्टी प्रवेश गरेको राप्रपा कास्कीका प्रवक्ता अरुण गिरीले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस