अमेरिकाको विश्वविद्यालयमा रहेको पार्वतीको मूर्ति नेपाल फर्काइने « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

अमेरिकाको विश्वविद्यालयमा रहेको पार्वतीको मूर्ति नेपाल फर्काइने


२४ बैशाख २०७९, शनिबार


काठमाडौँ। अमेरिकाको एक विश्वविद्यालयमा रहेको नेपालको बौद्ध देवी तार र पार्वतीको मूर्ति नेपाल फर्काइने भएको छ ।

येल विश्वविद्यालयको आर्ट ग्यालरीको स्थायी सङ्ग्रहमा रहेको उक्त मूर्ति नेपाल फर्काउन नेपाली महावाणिज्यदूतावास, न्यूयोर्क र येल युनिभर्सिटी आर्ट ग्यालरी, कनेक्टि कट, संयुक्त राज्य अमेरिकाबिच सहमति भएको हो ।

नेपाल सरकारका तर्फबाट न्यूयोर्कस्थित नेपाली महावाणिज्यदूतावासका कार्यवाहक महावाणिज्यदूत विष्णुप्रसाद गौतमले येलसँगको साझेदारीमा उक्त कलाकृति फिर्ता गर्ने सम्बन्धी सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।

आर्गिलाइट-ढुङ्गाबाट नवौँ-दसौँ शताब्दीमा बनेको उक्त मूर्ति येल युनिभर्सिटीमा सन् २०१५ मा एक दातामार्फत पुगेको थियो ।

नेपालको पुरातत्त्व विभाग र येल विश्वविद्यालय कला सङ्ग्रहबाट २०२१ मा गरिएका छुट्टाछुट्टै अनुसन्धानबाट यो मूर्ति २०३२ सालसम्म भक्तपुर नगरपालिका गोलमाडी टोलस्थित वीरभद्रेश्वर महादेव मन्दिरभित्र रहेको पत्ता लागेको थियो । र, त्यहाँबाट हराउनुअघि बौद्धदेवी र पार्वतीको रूपमा दैनिक पूजाआजा हुने गरेको पुष्टि भएको थियो ।

समभङ्ग मुद्रामा उभिएको, हातमा नाल र कमलको फूल लिएको र कलाशैलीका हिसाबले यो मूर्ति आरम्भिक मध्यकालको रहेको अनुमान गरिएको छ ।

मूर्ति फिर्ता गर्ने सहमतिपछि बोल्दै कार्यवाहक महावाणिज्यदूत गौतमले येल विश्वविद्यालय, येल विश्वविद्यालय आर्ट ग्यालरी, उक्त ग्यालरीकी निर्देशक स्टेफनी वाइल्स, गभर्निङ बोर्ड र क्युरेटोरियल टोलीलाई धन्यवाद दिएका छन् ।

मूर्ति हस्तान्तरण गर्ने क्रममा येल युनिभर्सिटी आर्ट ग्यालरीकी निर्देशक स्टेफनी वाइल्सले मूर्ति फिर्ता गर्न पाउँदा खुसी लागेको बताइन् ।

येल युनिभर्सिटी आर्ट ग्यालरीले महावाणिज्यदूतावास र पुरातत्त्व विभागसँगको समन्वयमा मूर्ति नेपाल फिर्ता पठाउनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस