डिआइजी वसन्त लामालाई एआईजीमा बढुवा गर्न सिफारिस « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

डिआइजी वसन्त लामालाई एआईजीमा बढुवा गर्न सिफारिस


२३ बैशाख २०७९, शुक्रबार


काठमाडौँ । गृह मन्त्रालयले नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डिआइजी) वसन्त कुमार लामालाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गर्न सिफारिस गरेको छ ।

आज (शुक्रबार) बसेको बढुवा समितिको बैठकले लामालाई एआईजीमा बढुवा गर्न सिफारिस गर्ने निर्णय गरेको हो । सिफारिसमाथि एक सातापछि मन्त्रिपरिषद् बैठकले निर्णय गर्नेछ ।

निवर्तमान आइजिपी शैलेश थापा क्षेत्रीको ब्याचले अवकाश पाएपछि नेपाल प्रहरीमा एआईजीका पाँच वटा दरबन्दी खाली थियो ।

रिक्त दरबन्दीमध्ये एउटामा मन्त्रालयले लामालाई बढुवा गर्न सिफारिस गरेको हो । एआईजीमा बढुवा भएका लामाले उमेर हदका कारण ८ जेठमा अवकाश पाउनेछन् ।

क्षेत्रीसँगै एआईजीहरु हरिबहादुर पाल, निरज शाही, प्रद्युम्न कार्की र वसन्त पन्तले अवकाश पाएपछि चार वटा एआईजीको दरबन्दी खाली थियो । धिरजप्रताप सिंहलाई आइजिपीमा बढुवा गरेपछि थप एक एआईजीको दरबन्दी रिक्त भयो ।

रिक्त अन्य दरबन्दीमा चाहिँ गृहले बढुवा प्रक्रिया अघि बढाएको छैन । हाल प्रहरीमा प्राविधिकबाहेक विश्वराज पोखरेल, सहकुलबहादुर थापा र रवीन्द्रबहादुर धानुक गरी तीन एआईजी छन् ।

उनीहरुमध्ये पोखरेल आइजिपी बढुवा असन्तुष्टि जनाउँदै अदालत गएका छन् र एक महिनालाई बिदामा छन् । थापाले पनि अदालत जाने तयारी गरेका थिए, तर गृहमन्त्री बालकृष्ण खाँणसँग भेट गरेपछि उनी नियमित काममा फर्किएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस