विश्व बैङ्कले वित्तीय क्षेत्र सबल बनाउन नेपाललाई दियो साढे १८ अर्ब ऋण « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

विश्व बैङ्कले वित्तीय क्षेत्र सबल बनाउन नेपाललाई दियो साढे १८ अर्ब ऋण


२१ बैशाख २०७९, बुधबार


काठमाडौँ । नेपालको वित्तीय क्षेत्रलाई सुदृढ बनाउन विश्व बैङ्कले १५ करोड अमेरिकी डलर (१८ अर्ब ३६ करोड रुपैयाँ) बराबरको ऋण सहायता उपलब्ध गराएको छ ।

वित्तीय क्षेत्रको स्थायित्व वृद्धि गर्न, वित्तीय समाधानको विविधीकरण गर्न र नेपालमा वित्तीय सेवामा पहुँच बढाउन नेपाल सरकार र विश्व बैङ्कबिच बुधबार अर्थ मन्त्रालयमा ऋण सम्झौतामा हस्ताक्षर भएको हो । यसलाई ‘वृद्धिका लागि वित्त नीति ऋण सम्झौता’ नाम दिइएको छ ।

सम्झौतामा नेपाल सरकारका तर्फबाट अर्थ सचिव मधुकुमार मरासिनी र विश्व बैङ्कका तर्फबाट मालदिभ्स, नेपाल र श्रीलङ्काका राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोसले हस्ताक्षर गरे ।

यो सहायताबाट कोभिड १९ र जलवायु परिवर्तनका उदयमान जोखिम सम्बोधन गर्न सहयोग पुग्ने अर्थ सचिव मरासिनीले बताए । उनले डिजिटल भुक्तानी र वित्तीय समावेशीकरणलाई मूल प्रवाहमा ल्याउन समेत सहयोग केन्द्रित रहेको बताए ।

यो आयोजनालाई विश्व बैङ्कको कार्यकारी निर्देशक बोर्डले गत १० चैतमा अनुमोदन गरेको थियो ।

विश्व बैङ्कका अनुसार पुँजी, बिमा र प्रकोप जोखिम वित्तीय बजार खोल्न र नवीनतम वित्तीय सेवाको प्रवर्द्धनमा यो सहायता उपयोग हुने भएको छ । विश्व बैङ्कका निर्देशक जर्भोसका अनुसार यो आयोजनाले पनर्लाभमा समर्थन गर्दै महामारीको प्रभाव न्यूनीकरणमा सहयोग पुर्‍याउने छ ।

Tags :
प्रतिक्रिया दिनुहोस