म्याग्दीमा चुनावको तयारी तीव्र « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

म्याग्दीमा चुनावको तयारी तीव्र


२१ बैशाख २०७९, बुधबार


म्याग्दी । यही वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि म्याग्दीमा तीव्र तयारी भइरहेको छ ।

जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय, मुख्य र निर्वाचन अधिकृतको कार्यालयले चुनावको तयारी तीव्र बनाएका हुन् ।

जिल्ला निर्वाचन अधिकारी भीमप्रसाद घिमिरेले निर्वाचनका लागि आवश्यक पर्ने जनशक्तिको खटनपटनको अन्तिम तयारी भएको जानकारी दिए।

‘चुनावमा खटाउने सम्भावित कर्मचारीको विवरण सङ्कलन गरेर मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई उपलब्ध गराएका छौँ’, उनले भने, ‘मुख्य निर्वाचन अधिकृतको कार्यालयले नियुक्ति दिएर चुनावमा खटाउने अन्तिम तयारी गरेको छ ।’ निर्वाचन कार्यालयले दुई हजार ३६७ जना निजामती कर्मचारी, स्थानीय तहका कर्मचारी, शिक्षक र स्वाथ्यकर्मीको विवरण पठाएको थियो ।

छ वटा स्थानीय तहका ४५ वडामा ७४ मतदान स्थल र ११४ मतदान केन्द्र कायम गरिएको छ । ११४ मतदान अधिकृत, ११४ सहायक मतदान अधिकृत, २१९ सहायक कर्मचारी र ११४ सहयोगी कर्मचारी गरी कूल ५६१ सुरक्षाकर्मी बाहेकका जनशक्ति नियुक्ति गरिने निर्वाचन अधिकारी घिमिरेले बताए ।

निर्वाचन आयोगबाट चुनावका लागि आवश्यक पर्ने सबै सामग्री जिल्लामा आइसकेको छ । ९६ हजार मतपत्र आएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

जिल्ला सुरक्षा समितिले म्याग्दीका ७४ मतदानस्थलमध्ये १५ वटालाई अति संवेदनशील, ४९ लाई संवेदनशील र १० वटालाई सामान्य समूहमा राखेर योजना बनाएको प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताए ।

‘मतदान पूर्व, मतदान र मतदानपछिको तीन चरणको सुरक्षा योजना बनाएका छौँ’, उनले भने, ‘नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, म्यादी प्रहरी र राष्ट्रिय अनुसन्धानका जनशक्ति परिचालन गरिएको छ ।’

निर्वाचन सुरक्षाका लागि म्याग्दीमा ६१८ म्यादी प्रहरी भर्ना भएका छन् । मतदान केन्द्रमा २७७ सहित ३८० नेपाल प्रहरी खटिने भएका छन् । सबै निर्वाचन अधिकृतको कार्यालयमा सुरक्षाका लागि सशस्त्र प्रहरीको टोली परिचालन भएको छ । सबै स्थानीय तहमा एक/एक वटा घुम्ती टोली परिचालन गरेर गस्ती थालिएको छ ।

जिल्लामा ४१ हजार ४१४ पुरुष, ४३ हजार ९६० महिला र एक तेस्रो लिङ्गी गरी कूल ८५ हजार ३७५ मतदाता छन् । २३७ पदका लागि ७१८ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस