जुम्लामा निर्वाचन सुरक्षाका लागि तीव्र तयारी « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

जुम्लामा निर्वाचन सुरक्षाका लागि तीव्र तयारी


२१ बैशाख २०७९, बुधबार


खलङ्गा । निर्वाचन सुरक्षाका लागि जुम्लामा डिजिटल नक्सा अनुगमन गरिने भएको छ ।

जिल्ला सुरक्षा समितिले निर्वाचन सुरक्षाका लागि भौतिकरूपमा अनुगमनदेखि डिजिटल नक्सा अनुगमन गर्न थालेको हो ।

प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईँले निर्वाचन सुरक्षाका लागि डिजिटल नक्सासमेत तयार गरिएको बताइन् ।

डिजिटल माध्यमबाटै भौगोलिक विषय र सुरक्षाको दृष्टिमा कति नजिक र टाढा तथा कसरी सुरक्षा व्यवस्था गर्न सकिन्छ भन्ने विषयमा जिल्ला सुरक्षा समितिले डिजिटल नक्सासमेत तयार पारेको प्रजिअ प्रसाईँले बताइन्।

जिल्लाभर ७९ वटा मतदान स्थल र १०२ वटा मतदान केन्द्र रहेका छन् । तिनीहरुमध्ये १४ वटा मतदान केन्द्रमा ५०० भन्दा कम मतदाता रहेका छन् । जुम्लाका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले भने, ‘केही मतदान केन्द्रमा हिँडेरै जानुपर्ने र एक दिन लाग्ने अवस्थाका छन् ।’

त्यसका लागि सुरक्षा निकायले स्थल अनुगमन तथा अवस्थाको विषयमा जानकारी लिई सुरक्षा योजना तयार पारिसकेको छ ।

जिल्लाका मतदानस्थलहरुमा एक महिनाअघि देखि सुरक्षा निकायले अनुगमन थालेको प्रहरी नायब उपरीक्षक चन्दले बताए ।

सबै निर्वाचन स्थलमा खटिए नेपाली सेना र सशस्त्र प्रहरी

यहाँका सबै निर्वाचन स्थलमा नेपाली सेना र सशस्त्र प्रहरी खटिएका छन् । राज्यले दिएको अधिकार र मापदण्डमा निर्वाचन सुरक्षाका लागि मतदान स्थलमा नेपाली सेना परिचालन भइसकेको नन्दबक्स गणका गणपति रबिन थापाले बताए ।

जिल्लामा डिजिटल नक्सा राखिएको र सो नक्साबाट सुरक्षा निकाय जिल्लाभर कसरी मतदान स्थलमा काम गरिरहेको हेर्ने सकिने नेपाली सेनाले जनाएको छ ।

डोल्पा हुम्ला, मुगु र कालीकोटमा समेत थप सुरक्षा परिचालन गरिएको छ । ड्रोनको समेत प्रयोग गरेर सबै मतदान स्थानको विवरण अपडेट गरिने जिल्ला सुरक्षा समितिले जनाएको छ ।

जुम्लाबाट छनोट भएका ६६९ जना म्यादी प्रहरीसमेत परिचालन भइसकेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस