म्यादी प्रहरीलाई सम्मानजनक व्यवहार गरौँ : गृहमन्त्री खाण « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

म्यादी प्रहरीलाई सम्मानजनक व्यवहार गरौँ : गृहमन्त्री खाण


२० बैशाख २०७९, मंगलबार


रुपन्देही । गृहमन्त्री बालकृष्ण खाणले स्थानीय तह निर्वाचनका लागि भर्ना भएका म्यादी प्रहरीलाई सम्मानजनक व्यवहार गर्न निर्देशन दिएका छन् ।

उनले अस्थायी भर्ना गरिए पनि म्यादी प्रहरीको भूमिका महत्त्वपूर्ण रहेकाले काममा लगाउँदा शिष्ट व्यवहार गर्न आग्रह गरे ।

आज गृह जिल्ला आएका गृहमन्त्री खाणले जिल्ला प्रशासन कार्यालय, रुपन्देहीमा भएको सुरक्षा निकायको बैठकमा सुरक्षा व्यवस्था चुस्त बनाउनसमेत सुरक्षा निकायलाई निर्देशन दिए । गृहमन्त्री खाँणले स्थानीय तह निर्वाचनमा मतदाता, मतदान स्थलमा खटिएका कर्मचारीलगायत आम नागरिकको सुरक्षा गर्ने दायित्व सरकारको भएको भन्दै त्यसका लागि सबै तयार रहन निर्देशन दिए ।

उनले चार वटै सुरक्षा निकायको समन्वयमा जिल्लाको सुरक्षालाई व्यवस्थित गरेर लैजान र मतदान स्थल, मतपेटिकाको सुरक्षामा पनि विशेष ध्यान दिन आग्रह गरे । उनले सुरक्षा निकायबाट सम्भावित जोखिम अध्ययन गरी अति संवेदनशील, संवेदनशील क्षेत्रको सुरक्षालाई विशेष ख्याल गर्न निर्देशन दिएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जानकारी दिए ।

बैठकमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, लुम्बिनी प्रदेश प्रमुख, नेपाली सेना, राष्ट्रिय अनुसन्धानका अधिकृत एवं रुपन्देही, कपिलवस्तु र नवलपरासीका प्रमुख जिल्ला अधिकारीको सहभागिता थियो । यस्तै, तीन वटै जिल्लाका सशस्त्र, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान प्रमुखको पनि सहभागिता थियो ।

बैठकमा प्रमुख जिल्ला अधिकारी र जिल्ला सुरक्षा निकायका प्रमुखले आ–आफ्नो जिल्लाको सुरक्षा अवस्थाबारे जानकारी गराएका थिए । उनीहरूले निर्वाचनलाई भय रहित वातावरणमा सम्पन्न गर्न लागिपरेको बताएका थिए ।

रुपन्देहीमा २०८ मतदान स्थल कायम गरिएका छन् । तीमध्ये ६३ अति संवेदनशील, ६८ संवेदनशील र ७७ लाई सामान्य सूचीमा वर्गीकरण गरिएको छ । सुरक्षा संवेदनशीलताको आधारमा सुरक्षाकर्मीको व्यवस्थापन गरिने प्रमुख जिल्ला अधिकारी तिवारीले जानकारी दिए । रुपन्देहीमा छ लाख ३२ हजार ३६० मतदाता छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस