पार्टीको निर्णय स्विकार्न कार्यकर्तालाई शेखर कोइरालाको निर्देशन, नमाने कारबाही गर्ने चेतावनी « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

पार्टीको निर्णय स्विकार्न कार्यकर्तालाई शेखर कोइरालाको निर्देशन, नमाने कारबाही गर्ने चेतावनी


२० बैशाख २०७९, मंगलबार


काठमाडौँ । नेपाली काँग्रेसका नेता शेखर कोइरालाले पार्टीले एउटा निर्णय गरिसकेपछि त्यसलाई सहर्ष स्वीकार गरेर जानुपर्ने बताएका छन्।

मोरङको सुन्दरहरैंचा नगरपालिकाका उम्मेदवारसँग अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता कोइरालाले पार्टी भित्र आन्तरिक रूपमा आफ्ना विचार भए पनि पार्टीको निर्णय मान्नुपर्ने बताएका हुन्।

सुन्दरहरैंचाका कतिपय वडामा आफ्नै पार्टीबाट स्वतन्त्र रूपमा नै बागी उम्मेदवार प्रस्तुत भएको बताउँदै यस्ता उम्मेदवारलाई पार्टीले कारबाही गर्ने बताए।

‘नेपाली काँग्रेसको विधानमै स्पष्ट रूपमा उल्लेख रहेको छ, बागी उम्मेदवारका साथै समर्थक र प्रस्तावकलाई कारबाही गर्ने भन्ने, पार्टीले त्यसैअनुसार कारबाही गर्छ। उनले भने, ‘जो ती उम्मेदवारको पछि लाग्छ उनीहरूलाई नि नोटिसमा राख्नुपर्छ।’

नेता कोइरालाले सुन्दरहरैंचामा पार्टीका आधिकारिक उम्मेदवारलाई विजयी गराउन नेता तथा कार्यकर्तालाई निर्देशन पनि दिएका छन्। ‘टिकट कसले पायो के गर्‍यो छोड्नुस्, अब हामीले रुख चिन्हलाई विजयी गराउन तर्फ लाग्ने हो।’

अन्तरक्रिया कार्यक्रममा सहभागी उम्मेदवारहरूले आफ्नो वडाका गतिविधि प्रस्तुत गरेका थिए। उनीहरूले सबै वडामा काँग्रेसको जीत सुनिश्चित रहेको ब्रिफिङ गराएका छन्। उम्मेदवारविरुद्धै पनि षड्यन्त्र भइरहेको भन्दै त्यस्ता अराजक व्यक्तिहरूलाई पार्टीले तुरुन्त कारबाही गर्नुपर्ने भन्दै सहभागीले जोड समेत दिएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस