कोभिडका नयाँ दुई भेरियन्टअमेरिकामा पनि भेटिए, नयाँ लहर सिर्जना गर्न सक्ने चेतावनी « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

कोभिडका नयाँ दुई भेरियन्टअमेरिकामा पनि भेटिए, नयाँ लहर सिर्जना गर्न सक्ने चेतावनी


२० बैशाख २०७९, मंगलबार


काठमाडौँ । ओमिक्रोनभन्दा बढी छिटो सर्ने र कोरोनाविरुद्धको खोप लगाइएका शरीरमा समेत आक्रमण गरेर सङ्क्रमित गराउने खालको नयाँ दुई वटा भेरियन्ट संयुक्त राज्य अमेरिकामा पनि देखिएको छ । यसले नयाँ महामारीको सङ्केत दिएको हुन सक्ने बताइएको छ ।

बीए ४ र बीए ५ दक्षिण अफ्रिकाबाट सुरु भएको ओमिक्रोन बीए १ जस्तै हुन् । गएको साता ब्लुमबर्गले जनाएअनुसार झन्डै सबै दक्षिण अफ्रिकीले खोप लगाइसके पनि सङ्क्रमणका घटना बढिरहेको छ ।

दक्षिण अफ्रिकाको सरुवा रोगका लागि राष्ट्रिय प्रतिष्ठानले आइतबार मात्र झन्डै चार हजार जना नयाँ कोरोना सङ्क्रमित भेटिएको जनाएको छ । परीक्षण गरिएका मध्ये २२ प्रतिशतमा पोजेटिभ भेटिएको छ ।

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले कोरोनाको पहिलो लहरपछि पोजेटिभको स्तर ५ प्रतिशतभन्दा कम भएको खण्डमा समुदाय खुला गर्न सकिने सिफारिस गरेको थियो । कोरोनाविरुद्धको खोप लगाइसकेका र ओमिक्रोनको सिकार भइसकेका दुवै खालका मानिसलाई नयाँ भेरियन्टले आक्रमण गरेको खण्डमा बिरामी पर्ने बताइएको छ ।

तर, दक्षिण अफ्रिकाका एक वरिष्ठ कोरोना अनुसन्धानकर्ता एलेक्स सिगलले त्यस्ता बिरामीलाई सम्भवतः अस्पतालै भर्ना गर्नु नपर्ने र उनीहरूको ज्यान पनि नजाने बताएका छन् ।

दक्षिण अफ्रिकास्थित अफ्रिका हेल्थ रिसर्च इन्स्टिच्युटका प्राध्यापक लिगलले खोप लगाइसकेका र पहिल्यै सङ्क्रमण भइसकेका एन्टिबडी भित्र छिर्न सक्ने भएकाले नयाँ भेरियन्ट बीए ४ र बीए ५ ले सङ्क्रमणको नयाँ लहर सिर्जना गर्न सक्ने बताएका छन् ।

अमेरिकाको कुल जनसङ्ख्याको करिब ६६.२ प्रतिशतले पूर्ण खोप तथा ४५.८ प्रतिशतले बुस्टर डोज लिएका छन् । यस्तै, पाँच वर्षमुनिका बालबालिकालाई अझै खोप वैधानिकता प्रदान गरिएको छैन । यी नयाँ दुई भेरियन्ट बीए २ भन्दा बढी सर्ने खालको देखिएको बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस