कार्यक्षमताकै आधारमा सिंहलाई महानिरीक्षक बनाइएको हो : टेकनारायण पाण्डे « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

कार्यक्षमताकै आधारमा सिंहलाई महानिरीक्षक बनाइएको हो : टेकनारायण पाण्डे


१९ बैशाख २०७९, सोमबार


काठमाडौँ । गृह सचिव टेकनारायण पाण्डेले परिपक्वता, कार्यकुशलता र कार्यक्षमताको आधारमा सरकारले नेपाल प्रहरीको महानिरीक्षकमा धिरज प्रताप सिंहलाई नियुक्त गरेको बताएका छन् ।

आज (सोमबार) गृह मन्त्रालयमा नवनियुक्त महानिरीक्षक सिंह र सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याललाई दर्ज्यानी चिन्ह प्रदान गर्दै सचिव पाण्डेले यस्तो बताएका हुन् ।

प्रहरी महानिरीक्षक बढुवाको सन्दर्भमा विभिन्न मिडियाबाजी भए पनि प्रचलित कानुन प्रहरी नियमावलीमा भएको व्यवस्थाअनुरुप नै महानिरीक्षकमा बढुवा गरिएको उनको भनाइ छ ।

सचिव पाण्डेले एआईजीहरुमध्ये सिंहमा सबै कार्यकुशलता देखेर नै निर्णय गरिएको पाण्डेले दाबी गरे ।

सबै एआईजी २०४९ साल चैत १२ गतेको नियुक्ति भएकोले उनीहरुबाट नै कार्यकुशलता र नेतृत्व प्रदान गर्न सक्ने क्षमताका आधारमा सरकारले सिंहलाई महानिरीक्षक बनाएको पाण्डेले बताए ।

‘प्रहरी महानिरीक्षक बढुवाको सन्दर्भमा विभिन्न मिडियाबाजी भए । हाम्रो प्रचलित कानुन प्रहरी नियमावलीमा भएको व्यवस्थाले ज्येष्ठता भन्छ । ज्येष्ठता भनेपछि सबै २०४९ साल चैत १२ गतेको नियुक्तिको मान्छेहरु नै अहिले महानिरीक्षक हुन उपयुक्त हो । सबै त्यही हुनुहुन्छ ४ जना नै । परिपक्वताको हिसाबले सरकारले छनोट गर्‍यो । नियमावलीले कार्यकुशलता र कार्यक्षमता भनेको छ । सरकारलाई भएका एआईजीहरुमा नवनियुक्त महानिरीक्षकज्यू एआईजीबाट बढुवा हुनुभयो । उहाँको कार्य कुशलता र कार्यक्षमता सरकारलाई राम्रो लाग्यो,’ उनले भने ।

सरकारले हिजो (आइतबार) सिंहलाई महानिरीक्षकमा बढुवा गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस