जनकपुरधाममा नमुना मतपत्रमा चुनाव चिह्न नराखिएको भन्दै स्वतन्त्र उम्मेदवारको धर्ना « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

जनकपुरधाममा नमुना मतपत्रमा चुनाव चिह्न नराखिएको भन्दै स्वतन्त्र उम्मेदवारको धर्ना


१९ बैशाख २०७९, सोमबार


जनकपुरधाम । निर्वाचन आयोगले सार्वजनिक गरेको नमुना मतपत्रमा चुनाव चिह्न नै नराखिएको भन्दै जनकपुरधामका एक जना स्वतन्त्र उम्मेदवार मनोज साहले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा धर्ना दिएका छन् ।

जनकपुरधाम उपमहानगरपालिकाको कार्यालयमा स्थापना भएको निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवार साह आफ्ना समर्थकसहित आज (सोमबार) धर्नामा बसेका हुन् ।

नेपाली काँग्रेस, जनकपुरधाम उपमहानगरपालिकाको सभापति पदबाट राजीनामा दिँदै साहले मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

निर्वाचन आयोगले उनलाई घण्टाघर चुनाव चिह्न दिएको छ । तर, आयोगले सार्वजनिक गरेको धनुषाको नमुना पत्रमा त्यो चुनाव चिह्न छैन ।

आफूले पाएको चुनाव चिह्न नमुना मतपत्रमा नदेखेपछि अन्योलमा परेको उम्मेदवार साह बताउँछन् । ‘मसँग खेलवाड गर्न खोजिएको छ,’ उनले भने, ‘पटक-पटक निर्वाचन अधिकृतलाई भन्दा पनि सुनुवाइ भएन ।’

मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले धेरै स्वतन्त्र उम्मेदवारहरुको चुनाव चिह्न नमुना मतपत्रमा नदेखिएको बताए । उनले यस विषयमा आयोगलाई जानकारी गराइसकिएको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस