निर्वाचन अधिकृत कार्यालय अगाडि नाराबाजी गरेको आरोपमा एक जना पक्राउ « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

निर्वाचन अधिकृत कार्यालय अगाडि नाराबाजी गरेको आरोपमा एक जना पक्राउ


१८ बैशाख २०७९, आइतबार


पक्राउ

पोखरा । निर्वाचन अधिकृतको कार्यालय अगाडि नाराबाजी गरेको आरोपमा कास्की प्रहरीले आइतबार एक जनालाई पक्राउ गरेको छ । प्रहरीले पोखराका अशोक खड्कालाई पक्राउ गरेको हो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय पोखराले नियन्त्रणमा लिएर कारबाही अगाडि बढाउन निवेदन गरेकोले आफूहरुले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी सुन्दर तिवारीले जानकारी दिए ।

‘मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट पक्राउ गरी कारबाही गरिपाऊँ भनेर निवेदन आएको थियो । त्यसैको आधारमा अनुसन्धानका लागि नियन्त्रणमा लिएका हौँ’ डिएसपी तिवारीले भने ।

निर्वाचन कसुर तथा सजाय ऐन २०७३ को दफा २० को १ घ अनुसार खड्कालाई नियन्त्रणमा लिइएको उनले जानकारी दिए ।

उक्त दफाअनुसार उम्मेदवार वा मतदाता वा निजहरुमध्ये कसैको सरोकार वा स्वार्थ भएको कुनै व्यक्ति वा निर्वाचन अधिकृत वा निर्वाचनमा संलग्न कर्मचारीलाई प्रभाव पार्न धाक, धम्की वा डर त्रास देखाउन नहुने उल्लेख छ ।

खड्कालगायतले अटेरी नामक अभियानका टोलीले पोखराको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका खडकबहादुर (गनेस) पौडेलले चुनाव चिन्ह ‘लौरो’ पाउनुपर्ने माग गर्दै नाराबाजी गरेका थिए ।

निर्वाचन आयोगले पौडेललाई लौरो चुनाव चिन्ह दिएको थियो । तर, दिउँसो प्राविधिक त्रुटिका कारण उक्त चिन्ह दिन नमिल्ने भन्दै फिर्ता बोलाएको थियो । त्यसपछि आक्रोशित बनेका अटेरी अभियानका अभियानताले मुख्य निर्वाचन अधिकृतको कार्यालय अगाडि नाराबाजी गरेका थिए ।

चुनाव चिन्ह वर्णानुक्रममा लौरो आठौँ नम्बरमा पर्ने तर, पोखरामा मेयर पदका उम्मेदवार ७ जना मात्रै भएकाले लौरो चिन्ह नबाँड्न आयोगले नै परिपत्र जारी गरेको मुख्य निर्वाचन अधिकृत श्रीकृष्ण भट्टराईले जानकारी दिए ।

तर, अटेरी समूहको नाराबाजीपछि निर्वाचन अधिकृत कार्यालयले अन्तिममा पुनः लौरो चिन्ह नै मेयर प्रत्याशी गनेस पौडेललाई वितरण गरेको थियो । पोखरामा लौरो चुनाव चिन्ह प्रदान गरिएकै कारण आयोगले मतपत्रमा थप एक लहर बढाउनुपर्ने भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस