चितवनमा बाघको आक्रमणबाट फेरि एक वृद्धको मृत्यु « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

चितवनमा बाघको आक्रमणबाट फेरि एक वृद्धको मृत्यु


१८ बैशाख २०७९, आइतबार


काठमाडौँ । घाँस काट्न जङ्गल गएका एक वृद्धको बाघको आक्रमणबाट मृत्यु भएको छ।

चितवनको खैरहनी नगरपालिका–१३ वैरियाका ६५ वर्षीय नारायण दाहाललाई कुमरोज मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न जाने क्रममा बाघले आक्रमण गरेको हो।

आइतबार बिहान ८ बजे जङ्गल गएका दाहाल १० बजेतिर मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी नरहरि अधिकारीले बताए। उनको घाँटीमा चोट लागेको र देब्रे तिघ्रा खाएको अवस्थामा शव भेटिएको उनले बताए।

खोजी गर्न गएको हात्तीसहित चितवन राष्ट्रिय निकुञ्ज, प्रहरी, नेपाली सेनाले आक्रमण भएको स्थानबाट एक किलोमिटर पर शव फेला पारेको अधिकारीले बताए।

यसअघि गत शुक्रबारमात्रै चितवनमा बाघको आक्रमणबाट हात्तीको माउतेको मृत्यु भएको थियो। निकुञ्जको हेडक्वाटर कसरा नजिकै माउते रमेश चौधरीको बाघको आक्रमणबाट मृत्यु भएको हो। चौधरी कसरास्थित हात्तीसार केन्द्रमा काम गर्दै आएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस