थबाङमा काँग्रेस, एमाले, विप्लव नेतृत्वको गठबन्धन « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

थबाङमा काँग्रेस, एमाले, विप्लव नेतृत्वको गठबन्धन


१७ बैशाख २०७९, शनिबार


रोल्पा । आसन्न स्थानीय तहको निर्वाचनका लागि रोल्पाको थवाङ गाउँपालिकामा नेपाली काँग्रेस, नेकपा एमाले र विप्लव नेतृत्वको नेकपाबिच गठबन्धन भएको छ ।

काँग्रेस, एमाले, विप्लव नेतृत्वको स्वतन्त्रसहित पाँच जनाले उम्मेदवारी फिर्ता लिएपछि सो गठबन्धन बनेको हो ।

काँग्रेसका कोषाध्यक्ष बमबहादुर रोकाले भने, ‘हामीले थबाङमा स्वतन्त्र उम्मेदवारलाई सघाउने गरेर अध्यक्षको मनोनयन फिर्ता लिने निर्णय गर्‍यौँ ।’

काँग्रेसबाट थबाङमा रमेश रोकाले उम्मेदवारी दिएका थिए । नेकपा एमालेबाट उम्मेदवारी दिएका नकस घर्तीले पनि मनोनयन फिर्ता लिएका छन् । नेकपाले अमित घर्तीलाई अगाडि सार्न खोजेको थियो ।

नेकपाबाट मात्रै अमित घर्ती, अजय घर्ती, दर्जित रोका मगर र महेश बुढामगरको उम्मेदवारी परेको थियो । अन्तिममा तीनै दलमा दर्जितको नाममा सहमति भएको थियो ।

नेकपाका केन्द्रीय सचिवालय सदस्य सन्तोष बुढाले भने, ‘दर्जितलाई हाम्रो समर्थन हो, उहाँको नाममा सबैको सहमति बनेको छ ।’ विसं २०७४ को स्थानीय तहको चुनावमा थबाङ गाउँपालिकामा नेकपा माओवादी केन्द्रले जितेको थियो ।

यस पटक माओवादी केन्द्रका विरुद्ध काँग्रेस, एमाले र विप्लव नेतृत्वको नेकपा एक ठाउँमा उभिएका छन् । रोल्पामा १० स्थानीय तहबाट उम्मेदवारी दिएकामध्ये ११४ जनाले फिर्ता लिएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस