मलेसियामा नेपाली सुरक्षा गार्डको तलब ३ हजार रिंगेट बनाउन प्रस्ताव « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

मलेसियामा नेपाली सुरक्षा गार्डको तलब ३ हजार रिंगेट बनाउन प्रस्ताव


१७ बैशाख २०७९, शनिबार


काठमाडौँ । मलेसियाको भ्रमणमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले मलेसियाका गृहमन्त्री हमजाह वीन जैनुदिनसँग द्विपक्षीय भेटवार्ता गरेका छन् ।

पुत्रजयास्थीत गृह मन्त्रालयमा भएको भेटवार्तामा उनीहरूबिच नेपाल–मलेसिया सम्बन्धका साथै द्विपक्षीय हित र साझा चासोका विविध विषयमा कुराकानी भएको हो ।

श्रेष्ठले नेपाली सुरक्षा गार्डको मासिक तलब ३ हजार मलेसियन रिंगेट हुनुपर्ने प्रस्ताव गरेका छन्। नेपाली कामदार मेहनती र इमानदार हुने चर्चा गर्दै गृहमन्त्री जैनुदिनले गोर्खा गार्ड्सका रूपमा मलेसियामा नेपालीहरूको राम्रो प्रभाव रहेको बताएका थिए ।

नेपाली युवाहरूलाई सीपयुक्त बनाइ थप रोजगारीका अवसरहरू प्रदान गर्ने, शून्य लागतको सिद्धान्तलाई प्रभावकारी बनाउने, स्वास्थ्य, सामाजिक सुरक्षा, चौबिसै घण्टा प्रभावकारी हुने बिमा सुविधाको व्यवस्थाबारे पनि उनीहरूबिच छलफल भएको थियो । नेपालमा सुरक्षा गार्ड सम्बन्धी तालिमको व्यवस्था गरी सीपयुक्त बनाउनेबारे समेत छलफल भएको थियो ।

पूर्व गोर्खा ब्रिटिस सैनिकको प्रभावका कारण मलेसियामा गोर्खा गार्ड्सका रूपमा नेपालीप्रति उच्च सद्भाव रहेकोले समयानुकूल तालिम दिएर व्यावसायिक विकास गर्नेतर्फ ध्यान दिनुपर्ने भेटवार्तामा सहभागी मन्त्रालयका सचिव एकनारायण अर्यालले बताए । छलफलमा भएका विषयलाई औपचारिकता दिन छिट्टै द्विपक्षीय समझदारी हुनेछ ।

यसअघि मन्त्री श्रेष्ठ र मलेसियाका समकक्षी सेरी एम सरा भननसँग गरेको द्विपक्षीय बैठकमा श्रम सम्झौतालाई प्रभावकारी कार्यान्वयन गर्ने सहमति भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस