ठुलाबडा पार्टीहरूले जनतासँग गठबन्धन भनेर मजाक गरे : महतो « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

ठुलाबडा पार्टीहरूले जनतासँग गठबन्धन भनेर मजाक गरे : महतो


१६ बैशाख २०७९, शुक्रबार


काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका नेता राजेन्द्र महतोले निर्वाचनकै मजाक हुने गरी सत्तारुढ दलहरूले चुनावी गठबन्धन गरेको टिप्पणी गरेका छन् ।

नेता महतोले निर्वाचनमा जनताले पार्टीलाई मत दिने भए पनि सत्तारुढ दलहरूले गठबन्धनको नाममा चुनाव लडेर गल्ती गरेको आरोप लगाए ।

शुक्रबार काठमाडौँमा पार्टीको स्थानीय तह चुनावी घोषणा पत्र सार्वजनिक कार्यक्रममा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले सत्तारुढ दलहरू चुनावमा जाँदा जनताले कुन पार्टी भनेर बुझ्ने भन्ने प्रश्न समेत गरे ।

देश र दुनियाँले नबुझ्ने गरी सत्तारुढ दलहरूले गठबन्धन बनाएर चुनावमा गएको नेता महतोको भनाइ थियो । उनले भने, ‘जनतासँग मजाक भइरहेको छ । यहाँका ठुलाबडा पार्टीहरूले जनतासँग गठबन्धन भनेर मजाक गरेको हो । यो चुनाव भनेको जनताले आफूले रोजेको पार्टीलाई भोट दिने होइन ? विभिन्न पार्टीप्रति आफ्नो अभिव्यक्ति दिने हो । निर्वाचन त्यसका लागि गरिन्छ ।’

सरकारी पार्टीहरूले जुन गठबन्धन गरेका छन्, त्यो कुन पार्टीको मान्यता हो ? कुन पार्टीको मत भनेर जनताले बुझ्ने हो ? नेता महतोको प्रश्न थियो ।

पार्टीको आधारमा चुनाव गराउने हो भने काँग्रेस पार्टीलाई कुन पालिका, कुन वडामा जनताले कति भोट दियो, कुन पार्टीहरूलाई जनताले कसरी समर्थन गर्‍यो भनेर बुझ्न नसकिने उनको भनाइ थियो ।

नेता महतोले दलीय सिस्टममा दलहरू आफैँ निर्वाचनमा जाने भएकाले आफ्नो पार्टीले गठबन्धन गरेर जाने विषयलाई महत्त्व नदिएको तर्क गरे । उनले स्थानीय तहमा आवश्यकताको आधारमा अन्य दलसँग चुनावी तालमेल गरेर जाने निर्णय गर्ने अधिकार स्थानीय पार्टीलाई दिइएको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस