महानगरमा मात्रै करिब चार हजार उम्मेदवार, सबैभन्दा धेरै एमालेबाट « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

महानगरमा मात्रै करिब चार हजार उम्मेदवार, सबैभन्दा धेरै एमालेबाट


१६ बैशाख २०७९, शुक्रबार


काठमाडौँ। स्थानीय तह निर्वाचनका लागि वीरगञ्जबाहेक मुलुकभरका पाँच महानगरपालिकामा सबै पदका लागि तीन हजार सात सय ७२ जनाले उम्मेदवारी दर्ता गरेका छन् । निर्वाचन आयोगका अनुसार ७९ राजनीतिक दल र स्वतन्त्रबाट विभिन्न पदमा उम्मेदवारी परेको छ ।

काठमाडौं महानगरपालिकामा माओवादीका सबैभन्दा कम उम्मेदवार

विवरण अनुसार मुलुकभरका ६ महानगरपालिकामध्ये सबैभन्दा धेरै काठमाडौं महानगरपालिकामा २९ राजनीतिक दल र स्वतन्त्रबाट प्रमुखदेखि वडा सदस्यसम्म आठ सय ६९ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जसमा सबैभन्दा धेरै उम्मेदवारी नेकपा (एमाले)ले दर्ता गराएको छ । एमालेबाट एक सय ५७ जनाको परेको छ । दोस्रोमा नेपाली काँग्रेसले एक सय ५५ जनाको उम्मेदवारी दर्ता गराएको छ ।

तेस्रोमा भने राष्ट्रिय प्रजातन्त्र पार्टीले एक सय ४० जनाको र चौथो नम्बरमा नेकपा (एकीकृत समाजवादी)बाट एक सय दुई जनाले उम्मेदवारी दर्ता गराएका छन् । प्रमुख राजनीतिक दलमा नेकपा (माओवादी केन्द्र)ले भने पाँचौँ नम्बरमा ९१ जनाको मात्रै उम्मेदवारी दर्ता गराएको छ । स्वतन्त्रतर्फ एक सय १७ जनाले विभिन्न पदमा उम्मेदवारी दर्ता गराएका छन् ।

पोखरा महानगरपालिकामा नेकपा एस पाँचौँ

आयोगको विवरण अनुसार पाँच महानगरपालिकामध्ये दोस्रोमा सबैभन्दा धेरै पोखरा महानगरपालिकामा २४ वटा राजनीतिक दल र स्वतन्त्रबाट गरी आठ सय ६ जनाको उम्मेदवारी दर्ता भएको छ । त्यहाँ सबैभन्दा धेरै नेकपा (एमाले)बाट एक सय ६७ जना, दोस्रोमा नेपाली काङ्ग्रेसबाट एक सय ५८ जना र तेस्रोमा नेकपा (माओवादी केन्द्र)बाट एक सय ४७ जनाको उम्मेदवारी दर्ता भएको छ ।

चौथोमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट एक सय ३५ जनाको उम्मेदवारी दर्ता भएको छ । पाँचौँमा भने नेकपा एकीकृत समाजवादीबाट ७३ जनाको मात्रै उम्मेदवारी दर्ता भएको छ भने स्वतन्त्रबाट ४९ जनाको उम्मेदवारी दर्ता भएको छ ।

विराटनगरमा काँग्रेस र एमालेबाट बराबर उम्मेदवार

विराटनगर महानगरपालिकामा २२ राजनीतिक दल तथा स्वतन्त्रबाट गरी सात सय ४६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । एमाले र काँग्रेसले ९६–९६ जना उम्मेदवार उठाएका छन् ।

त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ९१ जनाको उम्मेदवारी दर्ता भएको छ भने तेस्रोमा जनता समाजवादी पार्टीबाट ७८ जनाको उम्मेदवारी दर्ता भएको छ । नेकपा (माओवादी केन्द्र)ले ७२ जनाको दर्ता गराएको छ भने नेकपा (एकीकृत समाजवादी)बाट ७० जनाको उम्मेदवारी दर्ता भएको छ । स्वतन्त्रबाट भने ५८ जनाको उम्मेदवारी दर्ता भएको छ ।

भरतपुरमा पनि एमालेकै उम्मेदवार धेरै

भरतपुर महानगरपालिकामा २३ राजनीतिक दल र स्वतन्त्रबाट गरेर सात सय १७ जनाको उम्मेदवारी दर्ता भएको छ । जसमा सबैभन्दा धेरै नेकपा (एमाले)बाट एक सय ३८ जनाको उम्मेदवारी दर्ता भएको छ भने दोस्रोमा नेपाली काङ्ग्रेसबाट एक सय ३६ जनाको उम्मेदवारी दर्ता भएको छ ।

तेस्रोमा नेकपा (माओवादी केन्द्र)बाट एक सय २३, चौथोमा नेकपा (एकीकृत समाजवादी)बाट एक सय चार र पाँचौँमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ७५ जनाको उम्मेदवारी दर्ता भएको छ । स्वतन्त्रबाट भने ५२ जनाको उम्मेदवारी दर्ता भएको निर्वाचन आयोगले जनाएको छ।

ललितपुरमा कम उम्मेदवार

ललितपुर महानगरपालिकामा सबैभन्दा कम १६ राजनीतिक दल र स्वतन्त्रबाट गरेर ६ सय ३७ जनाको उम्मेदवारी दर्ता भएको छ । जसमध्ये सबैभन्दा धेरै नेकपा (एमाले)बाटै एक सय ३४ जनाको उम्मेदवारी परेको छ भने दोस्रोमा नेपाली काङ्ग्रेसबाट नेकपा (एमाले)भन्दा दुई जना कम अर्थात् एक सय ३२ जनाको उम्मेदवारी दर्ता भएको छ ।

तेस्रोमा भने राष्ट्रिय प्रजातन्त्र पार्टीबाट एक सय पाँच जना, चौथोमा नेकपा (माओवादी केन्द्र)बाट एक सय चार र पाँचौँमा नेकपा (एकीकृत समाजवादी)बाट ५४ जनाको उम्मेदवारी दर्ता भएको छ । स्वतन्त्रबाट भने ५३ जनाको उम्मेदवारी दर्ता भएको जनाइएको छ ।

निर्वाचन आयोगले वीरगञ्च महानगरको भने उम्मेदवारको विवरण सार्वजनिक गरेको छैन ।

Tags :
प्रतिक्रिया दिनुहोस