स्वतन्त्र उम्मेदवारलाई फकाउँदै दलका नेता « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

स्वतन्त्र उम्मेदवारलाई फकाउँदै दलका नेता


१५ बैशाख २०७९, बिहिबार


जनकपुर । सत्तारुढ गठबन्धनका साझा उम्मेदवारविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका उम्मेदवारलाई उम्मेदवारी फिर्ता गराउन दलका नेताले पहल सुरु गरेका छन् ।

सत्ता साझेदार दलको भागबन्डामा जनकपुरधाम उपमहानगरपालिकाको नगरप्रमुख जनता समाजवादी पार्टीलाई र उपप्रमुख काँग्रेसलाई दिने सहमति भएको थियो ।

त्यही सहमति अनुसार गठबन्धनको साझा उम्मेदवारको रूपमा जसपाले निवर्तमान नगरप्रमुख लाल किशोर साहलाई नगरप्रमुख र काँग्रेसले किशोरी साहलाई उपप्रमुख पदमा उम्मेदवार बनाएको छ ।

गठबन्धनमा आबद्ध दलहरूबिच भएको सहमतिप्रति असन्तुष्टि जनाउँदै पार्टी परित्यागको घोषणा गरी नेपाली काँग्रेसका नगर सभापति मनोज साहले नगरप्रमुखमा र निर्मल चौधरीले उपप्रमुखमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । स्वतन्त्र रूपमा साह र चौधरीले उम्मेदवारी दिएपछि गठबन्धनका उम्मेदवारलाई असर पर्न सक्ने भन्दै दलका नेताहरूले स्वतन्त्र उम्मेदवारलाई मनाउने प्रयास भइरहेको काँग्रेस धनुषाका पूर्व सभापति महेशचन्द्र गिरीले जानकारी दिए ।

‘आफूहरूले स्वतन्त्र उम्मेदवार दुवै जनाको उम्मेदवारी फिर्ता गराउने पहल गरिरहेका छौँ’, गिरीले भने, ‘अहिलेसम्म केही सकारात्मक परिणाम आउने सङ्केत त देखा परेको छैन ।’ तर हेरौँ आज साँझसम्म उम्मेदवारी फिर्ताको समय छ, त्यति बेलासम्म केही हुन्छ कि भन्ने आशा गरौँ उनको भनाइ थियो ।

यस्तै आफ्नै पार्टीका उम्मेदवारविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका उम्मेदवारलाई मनाउन नेकपा (एमाले)का नेताहरू पनि जुटेका छन् । एमालेले जनकपुरधामको नगरप्रमुखमा शिवशङ्कर साह र उपप्रमुखमा रुना झालाई उम्मेदवार बनाएपछि असन्तुष्ट बनेका जानकी राम साहले नगरप्रमुखमा र उमेश चौधरीले स्वतन्त्रबाट उम्मेदवारी दिएका छन् । उनी दुवै जनाको उम्मेदवारी फिर्ता गराउन प्रयास भइरहेको नेकपा एमाले धनुषाका अध्यक्ष राज किशोर यादवले जानकारी दिए ।

‘उम्मेदवारी फिर्ता लिन हामीले दुवै जनासँग आग्रह गरेका छौँ’, अध्यक्ष यादवले भने, ‘पार्टीका शीर्ष नेताले पनि पहल गरिरहनुभएको छ, आज साँझसम्म उहाँहरूले उम्मेदवारी फिर्ता लिएर पार्टीको आधिकारी उम्मेदवारलाई सघाउनुहुन्छ ।’ त्यो वातावरण बनाउन हामी नियमित पहल गरिरहेको उनको भनाइ थियो ।

जनकपुरधाम उपमहानगरपालिकाको नगरप्रमुख पदका लागि विभिन्न दल तथा स्वतन्त्र गरी ४१ जना र उपप्रमुखमा ३२ जनाले उम्मेदवारी दिएका छन् ।

नगर प्रमुखमा महिला प्रतिस्पर्धामा
आसन्न स्थानीय तह निर्वाचनका लागि तीन वटा दलले जनकपुरधाम उपमहानगरपालिकाको नगरप्रमुख पदमा महिलालाई उम्मेदवार बनाएका छन् ।

मधेस प्रदेशको राजधानीसमेत रहेको जनकपुरधाम उपमहानगरपालिकाको नगरप्रमुखका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीबाट किसान गिरी, तराई–मधेस लोकतान्त्रिक पार्टीबाट विभा ठाकुर र जनमत पार्टीबाट अनितादेवीले उम्मेदवारी दर्ता गराएका छन् ।

आसन्न निर्वाचनका लागि जनकपुरधामको नगरप्रमुख पदका लागि विभिन्न १२ दलबाट १२ जना र २९ जना स्वतन्त्रसहित ४१ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

तीमध्ये तीनै जना महिला फरक–फरक पार्टीबाट नगरप्रमुखमा उम्मेदवार दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यस्तै जनकपुरधाम उपमहानगरपालिकाको नगरप्रमुखका लागि दलित समुदायका अरुण दास तत्माले स्वतन्त्र उम्मेदवारी दिएका छन् । दलले दलित समुदायलाई नगरप्रमुख पदमा उम्मेदवार नबनाएपछि आफूले उम्मेदवारी दिएको उनले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस