बुधवारबाट उद्योगमा घोषित लोडसेडिङ, बिजुली काट्नुअघि जानकारी दिइने « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

बुधवारबाट उद्योगमा घोषित लोडसेडिङ, बिजुली काट्नुअघि जानकारी दिइने


१४ बैशाख २०७९, बुधबार


काठमाडौँ । बुधवारबाट औद्योगिक ग्राहकका लागि लोडसेडिङ घोषणा हुने भएको छ । बिजुली माग पूर्ति गर्नका लागि आन्तरिक उत्पादनले नपुग्ने र भारतबाट समेत बिजुली किन्न नपाएपछि नेपाल विद्युत् प्राधिकरणले लोडसेडिङ तालिका सार्वजनिक गर्न लागेको हो । घरायसी र सामुदायिक ग्राहकका लागि भने बिजुली काटिने छैन ।

मागअनुसार बिजुली नभएसम्म हरेक दिन ठुला उद्योगहरूमा बिजुली कटौती गर्नेसम्बन्धी सूचना जारी गरिने नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । उनले भने, ‘अहिले भारतबाट बिजुली पाउन छाड्यो । करिब १०र१५ दिन हामीलाई औद्योगिक ग्राहकको बिजुली काट्नुपर्ने हुनसक्छ । दिउँसो त बिजुली काट्दैनौँ । पिक समय र रातको समयमा कुन उद्योगमा कति बिजुली काटिन्छ भन्ने पूर्व जानकारी दिन्छौँ ।’

अब उद्योगहरूले हरेक दिन भोलिपल्ट कति समय बिजुली काटिन्छ भन्ने पूर्व जानकारी पाउने छन् । हरेक दिन बेलुका ६ बजेसम्ममा त्यस्तो जानकारी उपलब्ध गराइसक्ने प्राधिकरणले जनाएको छ ।

अहिले नेपालमा करिब ३ सय मेगावाट बिजुली अपुग रहेको प्राधिकरणले जनाएको छ । भारतको विहार राज्य र इन्डियन इनर्जी एक्सचेन्ज ९आईईएक्स० मार्केटबाट समेत बिजुली पाउन छाडेपछि औद्योगिक ग्राहकको बिजुली काट्न लागिएको हो ।

भारतमा उत्पादन हुने कुल बिजुलीमध्ये ७० प्रतिशत बराबर कोइला र थर्मल प्लान्टबाट हुने गरेको छ । रुस–युक्रेन युद्धका कारण अहिले भारतमा कोइला र प्राकृतिक ग्यासको अभाव छ । जस कारण नेपालले त्यहाँबाट बिजुली नै पाउन छाडेको हो ।

घिसिङले भने ‘बिहारले केही दिन अघिसम्म दिउँसोको समयमा बिजुली दिइरहेको थियो । तर अहिले उसले दिन सक्दिनँ भन्यो । आईईक्सबाट पनि सय मेगावाट भन्दा कम मात्रै बिजुली पाउने अवस्था आयो ।’ यसअघि नेपालले ढल्केबर–मुजफ्फरपुर प्रसारण लाइन हुँदै आउने गरी आईईएक्स मार्केटमा करिब साढे ४ सय मेगावाट बिजुलीका लागि बोलकबोल गर्न पाइरहेको थियो ।

यसै हप्ता टनकपुर–महेन्द्रनगर प्रसारणबाट थप ५० मेगावाट बिजुली आयातका लागि नेपालले स्वीकृति पाएको छ । यसरी आईईएक्स मार्केटबाट कुल ५ सय मेगावाट बराबर बिजुली नेपालले किन्न पाउने भए पनि भारतमै बिजुली अभावका कारण १ सय मेगावाट बराबर पनि पाउन सकेको छैन । घिसिङले भने, ‘बिड गरेको सबै बिजुली आईईएक्सले दिन सकेको छैन । दामासाहीका हिसाबले दिइरहेको छ । हामीले करिब ५ सय मेगावाट बिजुली किन्नका लागि बिड गरे पनि मुस्किलले १ सय मेगावाट पाइरहेका छौँ ।’

Tags :
प्रतिक्रिया दिनुहोस