बागी उम्मेदवारी फिर्ता गराउने सत्तारुढ गठबन्धनको निर्णय « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

बागी उम्मेदवारी फिर्ता गराउने सत्तारुढ गठबन्धनको निर्णय


१४ बैशाख २०७९, बुधबार


काठमाडौँ । सत्तारुढ गठबन्धनका पाँच दलका शीर्ष नेताले स्थानीय तह निर्वाचनमा गठबन्धनको निर्णय विपरीत दर्ता भएका उम्मेदवारी फिर्ता लिने सहमति भएको छ ।

नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताबिच महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकामा गठबन्धनले गरेको सिट बाँडफाँट विपरीत गठबन्धनभित्रका दलको तर्फबाट दर्ता भएको उम्मेदवारी फिर्ता लिने सहमति भएको हो ।

बैठकपछि शीर्ष नेताहरूले जारी गरेको संयुक्त विज्ञप्तिमा गठबन्धनको सहमति विपरीत दर्ता भएको बागी उम्मेदवारी फिर्ता लिन तल्ला समितिहरूलाई निर्देशन दिइएको छ ।

३० वैशाखमा हुने स्थानीय तह निर्वाचनको लागि दर्ता गरेको मनोनयन फिर्ता लिने दिनको अघिल्लो दिन बुधबार गठबन्धनका शीर्ष नेताको बैठक बसेको थियो । सो बैठकले गठबन्धनभित्रका कुनै पनि दलले गठबन्धनबाहिरका दलसँग तालमेल नगर्ने र गरेको भए अविलम्ब खारेज गर्ने सहमति पनि भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस