स्थानीय तह निर्वाचन : चुनावी गतिविधि बढाउँदै दलहरू « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

स्थानीय तह निर्वाचन : चुनावी गतिविधि बढाउँदै दलहरू


१४ बैशाख २०७९, बुधबार


गण्डकी । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि कास्कीमा क्रियाशील राजनीतिक दलहरूले चुनावी गतिविधिलाई तीव्रता दिएका छन् ।

निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता गरेसँगै दलहरूको चुनावी अभियानले गति लिएको हो ।

भूगोलका हिसाबले देशकै ठुलो पोखरा महानगरपालिकासहित पाँच वटा पालिका रहेको कास्कीमा नेपाली काँग्रेससहितको पाँच दलीय गठबन्धन, नेकपा (एमाले)सहित अन्य दल एवम् स्वतन्त्रबाट प्रमुख/उपप्रमुख, वडा अध्यक्ष एवम् सदस्यसहित कूल एक हजार ४९१ जनाको उम्मेदवारी परेको छ । निर्वाचनबाट कूल ३७० जना जनप्रतिनिधि जिल्लामा निर्वाचित हुनेछन् ।

उम्मेदवारी मनोनयनसँगै कतिपय स्थानमा गठबन्धन एवम् दलसँग सम्बद्ध नेता तथा कार्यकर्ताले स्वतन्त्र उम्मेदवारी दिएका कारण उक्त उम्मेदवारी फिर्ता गराउनेतर्फ पनि दलहरूको सक्रियता बढेको छ ।

उम्मेदवारको अन्तिम नामावली तयार भएपछि १६ गतेदेखि मतदाता भेटघाट एवम् घरदैलो कार्यक्रमलाई अझै सक्रियताका साथ अघि बढ्ने नेताहरू बताउँछन् ।

काँग्रेसले निर्वाचनको तयारीलाई तीव्रताका साथ अघि बढाएको काँग्रेस गण्डकी प्रदेश सह महामन्त्री एवम् पोखरा महानगरपालिकाका उपप्रमुखका उम्मेदवार कोपिला रानाभाटले जानकारी दिइन् ।

‘काँग्रेससहितको गठबन्धन चुनावी अभियानमा लागेका कारण गठबन्धन दलसँग छलफल गरी हामी चुनावी कार्यक्रमलाई अघि बढाउन लागेका छौँ’, उनले भनिन्, ‘यही १६ गतेसम्म उम्मेदवारी फिर्ता लिने समय रहेको र निर्वाचन परिचालन समितिले तय गरेअनुसार मतदाता भेटघाट एवम् घरदैलो कार्यक्रम अघि बढ्नेछन् ।’

निर्वाचनलाई लक्षित गरी एमालेले आफ्नो तयारी सक्रिय बनाएको एमाले गण्डकी प्रदेश कमिटीका उपसचिव रश्मि आचार्यले जानकारी दिइन् । पार्टीले पालिका स्तरमा पार्टीका विभिन्न समितिहरूलाई परिचालन गर्ने उनले बताइन्।

चुनाव प्रचारप्रसारअन्तर्गत घरदैलो, मतदाता शिक्षासँगै एमालेको नेतृत्वमा यस अघि भए गरेका कामबारे मतदातालाई जानकारी गराउने उनले जानकारी दिइन् ।

चुनावलाई लक्षित गरी गठबन्धन दलका तर्फबाट घोषणापत्र तयारी गर्ने काम भइरहेको नेकपा (माओवादी केन्द्र) नेता एवम् घोषणापत्र निर्माण समितिका सदस्य विश्वप्रकाश लामिछानेले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस