४७ आरोही कञ्चनजङ्घाको आधार शिविरमा « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

४७ आरोही कञ्चनजङ्घाको आधार शिविरमा


१४ बैशाख २०७९, बुधबार


फुङ्लिङ । कञ्चनजङ्घा हिमाल आरोहण गर्नका लागि ४७ आरोही आधार शिविर पुगेका छन् ।

यस वर्ष यति धेरै आरोही कञ्चनजङ्घा आरोहण गर्न एकै पटक आधार शिविर पुगेका हुन् ।

दक्षिणी र उत्तरी पदर्माग हुँदै आरोही कञ्चनजङ्घा आधार शिविर पुग्ने गर्छन् । दक्षिणी पदर्माग हुँदै ३६ आरोही कञ्चनजङ्घा आधार शिविर पुगेको कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को तापेथोक जाँच चौकीका पर्यटन सहायक कल्पना ताम्मादेनले जानकारी दिए ।

आधार शिविरमा भारतका पाँच, अमेरिकाका एक, जर्मनीका तीन, रोमानियाका दुई, अस्ट्रेलियाका तीन, नेदरल्याण्डका तीन, क्यानडाका दुई जनालगायत पुगेको उनले बताए ।

केही आरोहीले गत साता नै आधार शिविर पुगेर आरोहणको तयारी थालेका छन् । यस्तै उत्तरी पदर्माग हुँदै रोमानियाका ६ र बेलायतका पाँच आरोही आधार शिविरमा पुगेको याम्फुदिन जाँच चौकीका पर्यटन सहायक सूर्यमान राईले बताए ।

कञ्चनजङ्घा आरोहणका लागि ६७ जनाले अनुमति लिएका छन् । आधार शिविर आउने क्रम जारी रहेको छ । समिरबहादुर बस्नेत नेतृत्वको नौ सदस्यीय नेपाली टोलीले पनि कञ्चनजङ्घा आरोहणको अनुमति लिएको पर्यटन विभागले जनाएको छ ।

पर्यटन व्यवसायी उत्साही

लामो समय पर्यटन आगमन सुनसान भएपछि व्यवसायी निराश बनेका थिए । कञ्चनजङ्घा आउने पर्यटकलाई लक्ष्य गरेर ठुलो लगानीमा होटल तथा पर्यटन आवास निर्माण गरिएको थियो ।

कोरोनाका कारण पर्यटक नआएपछि होटल तथा पर्यटन व्यवसाय ठप्प थियो । अहिले होटल तथा पर्यटक व्यवसायी हिमाल आरोहीको आगमनसँगै उत्साहित बनेका कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का पर्यटन सहायक राईले बताए ।

फक्ताङलुङ गाउँपालिका–६ घुन्साका होटल व्यवसायी पेमा शेर्पा कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको चहलपहल बढ्न थालेको बताउँछन् ।

‘विगत वर्षमा दुईचार जनाबाहेक आरोहण गर्न आउँदैनथे । यस वर्ष उल्लेख्य सङ्ख्यामा आरोही हिमाल आरोहण गर्न आएका छन्,’ उनले भने ।

Tags :
प्रतिक्रिया दिनुहोस