काँग्रेसको घोषणा पत्रमा पुरातात्त्विक सम्पदा स्थानीय सामग्रीबाटै निर्माण « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

काँग्रेसको घोषणा पत्रमा पुरातात्त्विक सम्पदा स्थानीय सामग्रीबाटै निर्माण


१३ बैशाख २०७९, मंगलबार


काठमाडौँ । नेपाली काँग्रेसले पुराना पाटी पौवा, मठमन्दिर, चैत्य गुम्बालगायत पुरातात्त्विक सम्पदालाई सोही स्वरूपमा स्थानीय सामग्रीबाट निर्माण गर्ने नीति लिएको छ ।

स्थानीय तहको निर्वाचनका लागि पार्टीले जारी गरेको घोषणापत्रमा धार्मिक धरोहरको अभिलेखीकरण गरी संरक्षण र संवर्द्धन गर्ने प्रतिबद्धता जनाइएको छ ।

मौलिक कला र संस्कृति जगेर्ना गर्दै विश्वसामु उजागर गर्ने, गीत सङ्गीतसम्बन्धी तालिम सञ्चालन, चाड, पर्व, उत्सव, मेला, सङ्गीत र नाचको जगेर्ना गर्न स्थानीय युवालाई तालिम दिँदै जागरणका कार्यक्रम गरिने भएको छ । सबै जातजातिका परम्परागत जात्रा, पर्वको संरक्षण, सञ्चालन र व्यवस्थापन, विभिन्न समुदायमा प्रचलित हिंसा, कुरीति र विभेदकारी प्रथालाई बन्देज गरिने, संस्कृति, भाषा, साहित्य, चालचलन, गीत, सङ्गीत, रहनसहन, वाङ्मय, स्थानीय दर्शनको सूचीकरण, अध्ययन तथा अनुसन्धान गरी संरक्षण तथा प्रवर्द्धन गरिने र स्थानीय कला संस्कृतिको जगेर्ना गर्न चाडपर्व, उत्सव, मेला तथा सङ्गीतको जगेर्नालाई पनि काँग्रेसले प्राथमिकतामा राखेको छ ।

स्थानीय तहको भाषा संरक्षण गरिने

सम्बन्धित स्थानीय तहको भाषा साहित्य र कलाको संरक्षण गर्ने काँग्रेसको प्रतिबद्धता छ । नेपालमा बोलिने सबै भाषा, लिपी र अभिलेखबारे अध्ययन अनुसन्धान र अभिलेखीकरण गरिने पार्टीको कार्यक्रम छ । भाषा, संस्कार र संस्कृति, वेषभूषा, ललितकला र ऐतिहासिक पुरातात्त्विक हिसाबले विविधता भएको मुलुक भएकाले यसको संरक्षणमा स्थानीय सरकारले काम गर्ने कार्यक्रम काँग्रेसले ल्याएको हो ।

यस्ता विषयमा नीति, कानुन, मापदण्ड बनाइ लागू गर्न तहगत सरकारलाई मार्गदर्शन गरिने घोषणापत्रमा उल्लेख छ ।

Tags :
प्रतिक्रिया दिनुहोस