म्याग्दी । जिल्लाका छ पालिकामा आइतबार १७४ उम्मेदवारले आसन्न स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्ता गराएका छन् ।
मनोनयन दर्ताको पहिलो दिन बेनी नगरपालिका र धौलागिरि गाउँपालिकाको निर्वाचन अधिकृतको कार्यालयमा न्यून सङ्ख्यामा उम्मेदवारी दर्ता भएको छ ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार आइतबार दल र स्वतन्त्र उम्मेदवार गरी १७४ जनाले मनोनयन दर्ता गराएका छन् ।
रघुगङ्गा गाउँपालिकामा ७५, अन्नपूर्ण गाउँपालिकामा ४७, मालिका गाउँपालिकामा २७, धवलागिरी गाउँपालिकामा ३ र बेनी नगरपालिकामा दुई जनाको मनोनयन दर्ता भएको हो ।
मनोनयन दर्ता गरेकामध्ये धैलागिरिका एक, रघुगङ्गाका तीन र बेनीका दुई जना स्वतन्त्र हुन् ।
नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ले अन्नपूर्णमा दुई वडा सदस्यबाहेक पहिलो दिन कुनै पनि पालिकामा मनोनयन दर्ता गरेनन् ।
रघुगङ्गा र अन्नपूर्ण गाउँपालिकामा सबै प्यानलमा मनोनयन दर्ता गरेका नेपाली काँग्रेसका उम्मेदवार बाजागाजा र र्यालीसहित निर्वाचन अधिकृतको कार्यालयमा पुगेका थिए ।
एमालेले उम्मेदवार टुङ्गो लगाउन बाँकी भएको र सत्ता साझेदार दलहरुबीच सिट बाँडफाँडमा सहमति जुटेको छैन ।
रघुगङ्गाको अध्यक्षमा काँग्रेसका भवबहादुर भण्डारी, उपाध्यक्षमा प्रेमकुमारी पुन, स्वतन्त्रबाट अध्यक्षमा सागर भण्डारी र उपाध्यक्षमा अनुरोध रिजालले मनोनयन दर्ता गरेको निर्वाचित अधिकृत तेजनारायण पौडेलले जानकारी दिए ।
मङ्गोल नेशनल अर्गनाइजेशनले रघुगङ्गामा तुलप्रसाद गर्बुजालाई गाउँपालिका अध्यक्षको उम्मेदवार बनाएको छ ।
अन्नपूर्णका निर्वाचन अधिकृत जानुका सुवेदीका अनुसार अध्यक्षमा काँग्रेसका बलबहादुर तिलिजा पुन, नेशनल मङ्गोल अर्गनाइजेशनका गेमप्रसाद गर्बुजा र उपाध्यक्षमा एलिना शेरपुञ्जाको मनोनयनपत्र दर्ता भएको छ ।
माओवादीबाट वडा नम्बर ३ दानाको वडासदस्यमा सङ्गीता सार्की विक र वडा नम्बर ५ को खुला वडासदस्यमा पूर्णबहादुर पाइजाले मनोनयन दर्ता गराएका छन् ।
काँग्रेसले माओवादीलाई दुई वडा सदस्य छोडेर आठ वटै वडाका सबै पदमा उम्मेदवारी दिएको जनाएको छ । बेनीको वडा नम्बर ७ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार नरेश श्रेष्ठ र कृष्णबहादुर शाक्यले मनोनयन दर्ता गरेका छन् ।
मङ्गलाका निर्वाचन अधिकृत धर्मराज पौडेलले काँग्रेस र राप्रपाका २० जनाले मनोनयन दर्ता गराएका बताए । मालिकामा मङ्गोलले पालिका अध्यक्षसहित २७ पदमा मनोनयन दर्ता गरेको निर्वाचन अधिकृत गोविन्द उपाध्यायले जानकारी दिए ।
मङ्गोलका खमबहादुर रोकाले मालिका गाउँपालिका अध्यक्षमा मनोनयन दर्ता गराएका हुन् । काँग्रेसले दरवाङ बजारमा र्यालीसहितको शक्ति प्रदर्शन गरे पनि समय सकिएकाले मनोनयन दर्ता गरेनन् ।
धौलागिरिका निर्वाचन अधिकृत भोलाराज रेग्मीले एक जना स्वतन्त्र र दुई जना काँग्रेसका उम्मेदवारको मनोनयन दर्ता भएको बताए ।
वडा नम्बर ७ को अध्यक्षमा अर्जुनबहादुर थापाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । काँग्रेसबाट वडा नम्बर ५ को अध्यक्षमा अमरबहादुर छन्त्याल र एक जना सदस्यको मनोनयन दर्ता भएको छ ।
एमालेले धौलागिरि र बेनीको प्रमुख/उपप्रमुख तथा मालिका र मङ्गलाको उपाध्यक्षका उम्मेदवार छनोट नगरेकाले आइतबार मनोनयन दर्ता नगरेको हो ।
माओवादी केन्द्रले सत्ता साझेदार दलको तालमेलका लागि केन्द्रीय र प्रदेश कमिटीको आग्रहमा सोमबार मात्र मनोनयन दर्ता गर्ने जनाएको छ ।