कोरोना महामारी : छिमेकमा सङ्क्रमण बढ्दा नेपालमा कस्तो छ तयारी ? « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

कोरोना महामारी : छिमेकमा सङ्क्रमण बढ्दा नेपालमा कस्तो छ तयारी ?


११ बैशाख २०७९, आइतबार


काठमाडौँ । भारतमा कोरोना सङ्क्रमण बढ्दो क्रममा छ । सङ्क्रमितको सङ्ख्या एकाएक बढ्न थालेपछि राज्य सरकारहरूले फेरि आम मानिसले अपनाउनुपर्ने स्वास्थ्य मापदण्डमा कडाइ गर्न थालेका छन् । नेपालसँग सीमा जोडिएको उत्तर प्रदेशका केही सहरमा मास्कलाई पुनः अनिवार्य गरिएको छ । यस्तै सभा, सम्मेलनमा रोक लगाइएको छ । भारतमा सङ्क्रमण बढ्दै गर्दा नेपाल पनि जोखिममा रहेको छ । लामो खुला सीमा, दिल्ली र काठमाडौँको सम्पर्क बढी हुने हुनाले पनि नेपालमा बढी जोखिम छ ।

सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सीमा नाका र अन्तर्राष्ट्रिय विमानस्थलमा उच्च सतर्कता अपनाउन र एन्टिजेन परीक्षणलाई प्राथमिकता दिन आग्रह गरेको छ । छिमेकमा सङ्क्रमण बढ्दै गर्दा नेपालको तयारीका विषयमा स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमन लाल दाससँग गरिएको कुराकानी ।

भारतमा कोरोना भाइरसको सङ्क्रमण बढ्दै जाँदा नेपालको तयारी कस्तो छ ?
भारतमा कोरोनाको सङ्क्रमण बढ्दा स्वाभाविकै रूपले नेपाल जोखिममा रहन्छ । भारतसँगको खुला सीमाका कारण पनि नेपालमा भारतबाट आउनेबाट सङ्क्रमण फैलिने जोखिम रहन्छ । नेपालले कोरोनाको तीन वटा लहर थेगिसकेको छ । यसबाट पनि हामीले धेरै सिकेका छौँ । कोरोनाको रोकथाम, नियन्त्रण र उपचारका लागि संयन्त्रहरू, पूर्वाधारहरू तयार भइसकेको अवस्था छ । र ती चलायमान छन् । करिब करिब सबै नागरिकले खोप लगाइ सकेका छन् । यस कारण अबको सङ्क्रमणमा नेपालले पहिले जस्तो क्षति वेर्होनु पर्दैन ।

कोरोना सङ्क्रमण थाहापाउनका लागि गरिने टेस्ट अहिले पनि जारी छ । भारतमा सङ्क्रमण बढेसँगै सिमानाकामा रहेका हेल्थ डेस्कमा परीक्षणको दायरा बढाएका छौँ । उच्च सतर्कता अपनाएका छौँ । खोप नलगाएकालाई खोप लगाएका छौँ । सीमामा यदि कसैलाई पोजेटिभ देखियो भने राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा जिन सिक्वेन्सिङ गर्ने व्यवस्था मिलाएका छौँ ।

यसैगरी अन्तर्राष्ट्रिय विमानस्थलमा पनि सतर्कता अपनाएका छौँ । बाहिरबाट आउनेको परीक्षण गर्ने व्यवस्था मिलाएका छौँ । भारतमा कोरोना भाइरसको ओमिक्रोन भेरिअन्ट नै फैलिएको पाइएको छ । नेपालले ओमिक्रोनलाई झेलिसकेको छ ।
सङ्क्रमण फैलिएका स्थानबाट आउनेहरूको कोरोना परीक्षण र कोरोनाबाट बच्नका लागि अपनाउनु पर्ने स्वास्थ्य मापदण्ड पालनालाई नै अहिले प्राथमिकतामा राखेर काम गरिरहेका छौँ । कोरोना परीक्षणका लागि १०५ वटा ल्यापहरुमा निरन्तर रूपमा सञ्चालनमा छन् ।

कोरोना परीक्षणका लागि जनशक्ति र किट पर्याप्त छ ?
जनशक्ति पर्याप्त नै छ । पहिलो लहरदेखि तेस्रो लहरसम्म आइपुग्दा हामीले व्यवस्था गरेको जनशक्ति अहिले पनि निरन्तर नै छ । किट पनि पर्याप्त छ । कोरोना परीक्षणदेखि बिरामीको उपचारसम्मका लागि सरकारले सम्बन्धित निकायसँग समन्वय गरिरहेको छ र तयारी अवस्थामा रहनका लागि निर्देशन गरिसकेको अवस्था छ । हामी चनाखो नै छौँ ।

समस्या के हुन सक्छ भने भारतसँग खुला सीमा भएकाले सबै मानिस हाम्रो निगरानीमा नआउन सक्छन् । नाकाबाट आउनेको परीक्षण हुने नै भयो । नाकाभन्दा बाहिरबाट प्रवेश गर्ने सम्पर्कमा नआउन सक्ने सम्भावना छ । र यसका लागि पनि जनचेतना जगाउने काम गरिरहेका छौँ । सङ्क्रमणको शङ्का लागेमा स्वास्थ्य संस्थामा गएर परीक्षण गराउन भनेका छौँ ।

यसअघिका लहरमा भौतिक पूर्वाधार, अक्सिजन, सिटामोल लगायतको अभाव भएको थियो ? औषधिको पर्याप्तता कस्तो छ ?
कोरोनाले केही कुरा सिकाएर गएको छ । हाम्रो क्षमता कति छ भन्ने हामीले हेरिसकेका छौँ । यो महामारीले स्वास्थ्य क्षेत्रमा स्रोत र साधनमा सक्षम बनाएको छ । अस्पतालहरूमा अक्सिजनका प्लान्टहरु स्थापना भएका छन् । र ती सञ्चालनमा आएका छन् । यस कारण अब अक्सिजनको अभाव हुँदैन । सिटामोल पनि अहिले पर्याप्त छ ।

अबको सङ्क्रमणबाट को बढी जोखिम छ ?
अहिले कुनै उमेर समूहलाई लक्षित गरेर तयारी गर्ने भन्दा पनि समग्रमा सङ्क्रमण नेपाल भित्रन नदिनेमा केन्द्रित छौँ । भारतमा फैलिरहेको सङ्क्रमण कुन प्रकारको छ ? सङ्क्रमितको अवस्था कस्तो छ ? कोरोनाको नयाँ भेरिअन्ट हो वा होइन ? भन्नेमा नै चनाखो भएर अध्ययन गरिरहेका छौँ ।

अहिले चीन र भारत दुवै छिमेकी मुलुकमा कोरोनाको सङ्क्रमण बढेको छ । यो अवस्थामा नेपालले उच्च सतर्कता अपनाउनु पर्छ । सरकारले आफ्नो तर्फबाट काम गरिरहेको छ । र नागरिकले पनि आफ्नो तर्फबाट स्वास्थ्य मापदण्ड पालना गरेर सङ्क्रमित हुनबाट जोगिनु पर्छ ।

Tags :
प्रतिक्रिया दिनुहोस