शिक्षामा भएको लगानीले प्रतिफल दिन सकेन : अर्थमन्त्री शर्मा « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

शिक्षामा भएको लगानीले प्रतिफल दिन सकेन : अर्थमन्त्री शर्मा


११ बैशाख २०७९, आइतबार


काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले शिक्षा भएको बजेट लगानीले प्रतिफल दिन नसकेको बताएका छन् ।

आगामी आर्थिक वर्ष २०७९/८० का लागि मन्त्रालयगत छलफलका क्रममा अर्थले आज (आइतबार) शिक्षा र स्वास्थ्य मन्त्रालयसँग छलफल गरेको हो ।

सो क्रममा अर्थमन्त्री शर्माले धेरै कार्यक्रममा निरन्तर बजेट हालिए पनि प्रतिफल आउन नसकेको बताएका हुन् ।

उनले प्रतिफलयोग्य कार्यक्रम समेटेर बजेट बनाउन सुझाव दिए । शिक्षा मन्त्रालयसँग भएको बैठकमा अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले विद्यालय छाड्ने प्रवृत्तिलाई रोक्ने गरी कार्यक्रम बनाउन आग्रह गरेका छन् ।

‘१ कक्षामा भर्ना भएका विद्यार्थी ५ कक्षा पुग्दा धेरैले पढाई छाड्छन्, अझै माथिल्लो स्तरका कक्षामा पुग्दा भर्ना हुने विद्यार्थी संख्या बिस्तारै कम हुँदै गएको देखिन्छ’ उनले भने, ‘विद्यालयमा भर्ना भएर पढाई छाड्नुको कारण के हो ? यसको सोधखोज गरेर विद्यालय भर्ना भएका विद्यार्थीलाई कुनै हालतमा पढाई नछाड्ने वातावरण बनाउन के गर्नुपर्छ, सोही अनुसार बजेट र कार्यक्रम राखौँ ।’

उनले पढाई र सिकाई प्रक्रियालाई समयको बदलावसँगै परिवर्तन गर्न डिजिटल प्रविधितर्फ जानुपर्ने धारणा राखे । आगामी आबको बजेटबाटै केही विद्यालयमा डिजिटल प्रविधिको पढाई सुरु गर्ने गरी कार्यक्रम राख्न उनले निर्देशन दिए ।

आइटी कलेज स्थापना जरुरी भएको भन्दै उनले त्यसमा पनि बजेट राख्नुपर्ने बताए । बैठकमा शिक्षामन्त्री देवेन्द्र पौडेलले शिक्षा क्षेत्र नसुध्रिए सबैतिर भद्रगोल हुने भन्दै गुणस्तरीय शिक्षामा बजेट र कार्यक्रम समेट्नुपर्ने बताए ।

उनले शिक्षामा सुधार गरेर मुलुकको विकासमा समेत टेवा पुर्‍याउनुपर्ने बताए । ‘यस पटक शिक्षामा अलि मन फुकाएर बजेट राखौँ, बरु के कस्ता कार्यक्रम राख्ने भन्ने सबैले सल्लाह गरौँला’ उनले भने ।

छलफलमा योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेलले लामो दुरी तय गरेर विद्यालय जानुपर्ने बाध्यता हटाउनुपर्ने बताए । उनले सरकारी पैसामा अध्ययन गर्ने र काम गर्ने बेला विदेश जाने प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्ने उल्लेख गरे ।

‘सरकारी पैसामा पढेर नेपालमै काम गर्ने जनशक्ति उत्पादन गर्ने हो, विदेश जाने जनशक्ति उत्पादन गर्न खोजेको होइन भन्ने सन्देश बजेटबाट दिनुपर्छ’ उनले भने ।

छलफलमा अर्थ सचिव मधुकुमार मरासिनीले मन्त्रालयहरुको बजेट थपघट हुनु स्वाभाविक भएको बताए । ‘हरेक वर्ष बजेट बढ्नैपर्छ भन्ने दाबी छ, यसो होइन, शिक्षाको बजेट आफैँमा पनि सानो हुने गरेको छैन’ सचिव मरासिनीले भने ।

Tags :
प्रतिक्रिया दिनुहोस