अमेरिकी संसदीय टोली फर्कियो « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

अमेरिकी संसदीय टोली फर्कियो


११ बैशाख २०७९, आइतबार


काठमाडौँ । युक्रेनमाथि रुसी हमलाविरुद्ध जनमत निर्माण गर्न विभिन्न मुलुकको भ्रमणमा निस्किएको अमेरिकी संसदीय टोली नेपालका उच्च अधिकारीहरुसँग द्विपक्षीय भेटवार्ता र छलफल गरी स्वदेश फर्केको छ ।

तीन दिने भ्रमणमा गत शुक्रबार नेपाल आएको उक्त ५ जना सांसदहरुको टोलीले शनिबार प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख प्रतिपक्ष दलका अध्यक्ष केपी शर्मा ओली, परराष्ट्र मन्त्री नारायण खड्का र नेपाल–अमेरिका संसदीय मैत्री समूहका संयोजक मिनेन्द्र रिजालको टोलीसँग द्विपक्षीय भेटवार्ता र छलफल गरेको थियो ।

नेपाल र अमेरिकाबीच कूटनीतिक सम्बन्धको ७५ औँ वर्षगाँठको अवसरमा सेनेटर क्रिस्टन जिलिब्रान्डको नेतृत्वमा टोली नेपाल आएको हो ।

नेपाल र अमेरिकाबीच सन् १९४७ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो ।

टोलीका अन्य सदस्यमा सेनेटरहरु (माथिल्लो सदनका) शेल्डन ह्वाइटहाउस, कोरी बुकर र मार्क केली छन् । यस्तै, प्रतिनिधिसभा सदस्य मोन्डेयर जोन्स पनि रहेका छन् ।

उनीहरु सबै डेमोक्र्याटिक पार्टीमा आबद्ध हुन् । तर भेटवार्ता र छलफलमा सांसद मार्क केलीले सहभागिता जनाएनन् ।

स्रोतका अनुसार काठमाडौँ उत्रिएपछि उनको स्वास्थ्यमा केही समस्या भएको कारणले गर्दा द्विपक्षीय भेटवार्ता र छलफलमा सहभागी नभएका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस