निगमको साउदी अरेबियाको रियादमा सिधा उडान सुरु « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

निगमको साउदी अरेबियाको रियादमा सिधा उडान सुरु


१० बैशाख २०७९, शनिबार


काठमाडौँ । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)ले हिजो (शुक्रबार)देखि साउदी अरेबियाको रियादमा सिधा उडान सुरु गरेको छ ।

निगमको वाइड बडी ए ३३० जहाजले रियादमा शुभारम्भ उडान भरेको हो ।

उद्घाटन उडानमा विभिन्न मन्त्रालयका उच्च अधिकारी, निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीसहित विभिन्न विभागका प्रतिनिधि, व्यवसायीलगायत सहभागी छन् ।

निगमका अध्यक्ष अधिकारीले विविध बाधा अवरोधलाई पन्छाउँदै रियादमा ऐतिहासिक उडान सुरु गरिएको बताए । ‘विविध अवरोधलाई पन्छाउँदै अन्ततः हामी साउदी अरेबियाको रियादमा आज पहिलो शुभारम्भ उडान गर्दै छौँ । राष्ट्रिय ध्वजावाहकको यो नयाँ गन्तव्यको सुरुआतका लागि सहयोग गर्ने सम्पूर्णमा विशेष आभार व्यक्त गर्दछु’, अध्यक्ष अधिकारीले भने ।

उनले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीको नेतृत्व र मन्त्रालयको टिम तथा नेपाल नागरिक उड्डयन प्राधिकरणको समन्वयमा रियाद उडान सञ्चालन गर्न सफल भएकोमा सबैप्रति आधार प्रकट गरे। साथै उनले परराष्ट्र मन्त्रालयलगायत सबै शुभेच्छुक एवं सहयोगीप्रति धन्यवाद व्यक्त गरे ।

निगमले हालै रियाद, दमाम र जेद्दामा उडानको अनुमति पाएको थियो । रियादस्थित नागरिक उड्डयन कार्यालयको जेनरल अथोरिटी अफ सिभिल एभिएसन्सले त्यहाँका तीन वटा सहर जेद्दा, दमाम र रियादमा दुईतर्फी उडानको अनुमति दिएको थियो । निगमले पहिलो चरणमा वैशाख ९ (हिजो) गतेदेखि काठमाडौँ–रियाद–काठमाडौँ सातामा तीन उडान गर्नेछ ।

एकतर्फी ३७ हजार भाडा

काठमाडौँ–रियाद गन्तव्यका लागि एकतर्फी भाडा दर रु ३७ हजार कायम गरिएको जनाइएको छ । निगमका प्रवक्ता अर्चना खड्काले हाललाई एकतर्फी भाडा दर कायम गरिएको बताए । निगमले साउदी अरेबिया उडानका लागि वाइडबडी र न्यारोबडी दुवै जहाजले उडान गर्ने गरी ‘स्लट’ पाएको छ ।

यो गन्तव्यको उडानमा निगमले सहुलियतपूर्ण भाडा दर, यात्रुलाई सुविधा ‘इनफ्लाइट’ खाना तथा रियादबाट फर्कँदा यात्रुले ४० केजी लगेज सुविधा पाउनेछन् । काठमाडौँ–रियाद एकतर्फी उडान अवधि छ घण्टा १५ मिनेट र रियाद–काठमाडौँ उडान अवधि चार घण्टा ५० मिनेटको हुने निगमले जनाएको छ ।

नेपाली कामदारको बाहुल्य रहेको मुलुक साउदी अरबको उडानले निगमलाई आर्थिकरूपमा लाभ हुनसक्ने अनुमान गरिएको छ । विभिन्न पेसा व्यवसायमा पनि साउदीका विभिन्न गन्तव्यमा नेपाली छन् । अन्य मुलुकबाट ट्रान्जिट भएर आउन पनि यात्रुलाई सहज हुने भएकाले यो गन्तव्य उपयोगी हुने विश्वास गरिएको छ ।

आठ देशका १० गन्तव्यमा उडान विस्तार

नेपाली ध्वजावाहक वायुसेवा निगमको रियादको उडानसँगै अब आठ देशका १० गन्तव्यमा नियमित उडान हुने भएको छ । निगमले यसअघि भारतका तीनसहित सात देशका नौ गन्तव्यमा उडान भर्दै आएको थियो । निगमले भारतको नयाँ दिल्ली, मुम्बई, बैंग्लोर, दुबई, दोहा, क्वालालम्पुर, हङ्कङ, बैङ्कक र जापानको नारितामा अन्तर्राष्ट्रिय उडान गर्दै आएको छ ।

देशको शान र पहिचान जोडिएको निगमको अन्तर्राष्ट्रिय गन्तव्यको उडानले कूटनीतिक सम्बन्ध विस्तार र बढीभन्दा बढी विदेशी पर्यटक भित्र्याउन राष्ट्रिय ध्वजावाहकको ऐतिहासिक भूमिका रहँदै आएको छ र अगामी दिनमा पनि यो कायमै रहने निगमको विश्वास छ ।

कार्यकारी अध्यक्ष अधिकारीले निगमको व्यवस्थापन सुधारदेखि सेवा सुदृढीकरण र बजार विस्तारमा निगम व्यवस्थापन अहोरात्र लागिपरेको बताए । व्यवस्थापनको मेहनत, कर्मचारीको साथ र सहयोगले नै छोटो समयमा निगमभित्र धेरै सकारात्मक परिवर्तन गरिएको र यसलाई परिणाममुखी बनाउन निगम अग्रसर रहेको उनको भनाइ छ ।

अन्य काममा पनि निगमभित्रका कर्मचारीको सहयोग र तालुकदार मन्त्रालय र नियामक निकायसँगको समन्वयमा केही नतिजामुखी काम भएको पनि अध्यक्ष अधिकारीको जिकिर थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस