जुम्लामा कृषि गणनामा कर्मचारी खटिए « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

जुम्लामा कृषि गणनामा कर्मचारी खटिए


९ बैशाख २०७९, शुक्रबार


जुम्ला

खलङ्गा । जुम्लाका आठ वटै स्थानीय तहमा कृषि गणनाका लागि ३८ कर्मचारी खटिएका छन् । जिल्लामा ३० गणक र आठ सुपरिवेक्षक खटिएको जिल्ला कृषि गणना कार्यालय जुम्लाका कृषि गणना अधिकृत लक्ष्मण कँडेलले बताए ।

उनले भने, ‘गणकले जिल्लाका ७७ गणना क्षेत्रबाट कृषि गणना गर्नेछन् । करिब तीनदेखि चार गणकलाई एक सुपरिवेक्षकले ‘गाइड’ गर्नेछन् । एक सुपरिवेक्षकले एक पालिकाका पुरै र अन्य पालिकाका केही गणना क्षेत्रमा पनि निरीक्षण गर्नुपर्ने र विगतमा भन्दा यो पटकको कृषि गणना अलिक फरक हुनेछ ।’

जुम्लामा साधारणतया एक गणना क्षेत्रमा २५ हाराहारीमा गणकले विवरण भर्नुपर्नेछ । जिल्ला कृषि गणना कार्यालयका प्रमुख कँडेलका अनुसार सबैभन्दा बढी चन्दननाथ नगरपालिका र हिमा गाउँपालिकाका ११ स्थानमा कृषि गणना गरिने भएको छ । तिला गाउँपालिका, कनकासुन्दरी र तातोपानीका १० स्थानमा कृषि गणना गरिनेछ ।

सिञ्जा गाउँपालिका र पातारासी गाउँपालिकाका नौ स्थानमा गणना गरिनेछ । सबैभन्दा कम सात स्थानमा गुठीचौर गाउँपालिकामा कृषि गणना हुनेछ । आगामी वैशाख ६ देखि जेठ १९ गतेसम्म कृषि गणना गरिनेछ । गणकले कृषकका भोगचलन गरेको जग्गाको आकार, जग्गाको उपभोग र उपयोग, बाली लगाइएको जग्गाको क्षेत्रफल, मुख्य बालीको उत्पादन र सिँचाइको विवरण, बीउको प्रयोगबारे तथ्याङ्क लिने छन् ।

गणकले कृषि सामग्री र औजारको उपयोग, पशुपक्षीको सङ्ख्या, आहारसम्बन्धी विवरण, कृषि कार्यमा संलग्न जनशक्ति, लिङ्गका आधारमा जग्गामा स्वामित्वको अवस्थालगायत बारे तथ्याङ्क सङ्कलन गर्नेछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस