आइतबारदेखि देशभर विकास निर्माणका काम ठप्प « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

आइतबारदेखि देशभर विकास निर्माणका काम ठप्प


९ बैशाख २०७९, शुक्रबार


काठमाडौँ । निर्माण व्यवसायी (ठेकेदारहरू)ले आइतबारदेखि देशभर विकास निर्माणका काम ठप्प पार्ने घोषणा गरेका छन् ।

नेपाल निर्माण व्यवसायी महासङ्घले शुक्रबार पत्रकार सम्मेलन नै गरेर आइतबारदेखि अत्यावश्यक बाहेकका सम्पूर्ण निर्माण कार्य बन्द (कन्स्ट्रक्सन होलिडे) गरी आन्दोलन अगाडि बढाउने घोषणा गरेको हो ।

ठेक्का लिँदाको तुलनामा अहिले निर्माण सामग्रीको मूल्य अत्याधिक बढेकाले सो मूल्यवृद्धि समायोजन नभएसम्म आयोजनाको काम रोकिने महासङ्घका अध्यक्ष रवि सिंहले बताए । उनले भने ‘ठेक्का लिने बेलामा भन्दा अहिले कतिपय निर्माण सामग्रीको मूल्य दोब्बरसम्म भएको छ, हामीले गोजीबाट रकम हालेर काम गर्न त सक्दैनौँ, जबसम्म मूल्यवृद्धि समायोजन हुँदैन तबसम्म काम अघि बढ्दैन ।’ यद्यपि अत्यावश्यक कामले भने निरन्तरता पाउने उनले बताए ।

केही दिनयता सार्वजनिक खरिद अनुगमन र बिमा समितिमा धर्ना दिँदै आएको महासङ्घले अब भने निर्माण कार्य नै रोक्न लागेको हो । निर्माण व्यवसायीले काम रोकेसँगै चालु रहेका ५ खर्ब बढीका ५ हजार आयोजनाको निर्माण कार्य प्रभावित हुने भएको छ ।

निर्माण सामग्रीमा भएको अत्यधिक मूल्य वृद्धिको समायोजन गर्नुपर्ने, खरिद नियमावली ११औँ संशोधनमा भएका त्रुटिहरू सच्याउनुपर्ने, बिमा निर्देशिका २०७८ खारेज गर्नुपर्ने लगायतका माग आफूहरूको रहेको महासङ्घका महासचिव रोशन दाहालले बताए ।

उनका अनुसार पेट्रोलियम पदार्थ, बिटुमिन, फलामजन्य लगायत निर्माण सामग्रीमा अप्रत्याशित मूल्य वृद्धि भएकाले ठेक्का लिएकै रकममा निर्माणको काम अघि बढाउन सक्ने अवस्था छैन । माग पूरा नभए सशक्त आन्दोलनमा उत्रिने महासङ्घले चेतावनी दिएको छ । आर्थिक वर्षको अन्तिम समय भएकाले चैतदेखि असार मसान्तसम्म निर्माण कार्यले केही गति लिने गरेको छ ।

यहीँ बेला व्यवसायीले निर्माण कार्य ठप्प पार्दा देशभर पूर्वाधारको काम नराम्रोसँग प्रभावित हुनेछ । आफ्ना मागहरूका सम्बन्धमा सम्बन्धित सरकारी निकायमा जानकारी गराए पनि कुनै सुनुवाइ नभएको दाहालले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस