ऋषि धमलाले कारबाही स्वरुप लिए आचारसंहिता कक्षा « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

ऋषि धमलाले कारबाही स्वरुप लिए आचारसंहिता कक्षा


९ बैशाख २०७९, शुक्रबार


काठमाडौँ । आचारसंहिता उल्लंघन गरेको भन्दै पत्रकार ऋषि धमलालाई प्रेस काउन्सिल नेपालले कक्षा लिन लगाएको छ ।

जहाजमा जबर्जस्ती क्यामेरासहित प्रवेश गरेर लाइभ प्रसारण गरेको, कर्मचारीमाथि गलत व्यवहार गरेको विषयलाई गम्भीर रुपमा लिइ काउन्सिलले धमलालाई आचारसंहिता अभिमुखिकरण कक्षामा सहभागी गराएको जनाएको छ ।

जहाजभित्र जबर्जस्ती लाइभ गरेको, नेपाल बार एशोसिएसनको बैठकमा समेत अनुमति बिना पसी लाइभ गरेको विषयमा काउन्सिल अन्तर्गत आचारसंहिता अनुगमन उपसमितिको बैठकले उनलाई शुक्रबार कक्षामा राख्ने र आइन्दा उल्लंघन नगर्न सचेत गराउने निर्णय गरेको थियो ।

सोही निर्णयलाई पालना गर्दै धमला शुक्रबार कक्षा लिन दिउँसो १२ बजे काउन्सिल पुगेका थिए । काउन्सिलले पत्रकार आचारसंहिताको गम्भीर उल्लंघनकर्तालाई आवश्यकता अनुसार अभिमुखिकरण कक्षामा राख्ने नयाँ व्यवस्था थालनी गरेको हो ।

यस्तो खालको कक्षामा सहभागी धमला पहिलो पत्रकार हुन् । तर, नयाँ अनलाइनका सञ्चालक, सम्पादक र सञ्चारकर्मीलाई पनि आचारसंहिता कक्षा काउन्सिलले अनिवार्य गरेको छ । यही चैत १ गतेदेखि काउन्सिलले अनलाइन दर्ता गर्नुपूर्व सञ्चालक, पत्रकारहरुले अनिवार्य रुपमा आचारसंहिता अभिमुखिकरण कक्षा लिनुपर्ने व्यवस्था गरेको हो । त्यस्तो कक्षा लिएपछि मात्र काउन्सिलले अनलाइन सूचीकरण गर्न थालेको छ ।

शुक्रबारको कक्षामा धमलासँगै यस्ता सूचीकरण प्रक्रियामा रहेका सञ्चालक र पत्रकारहरुसमेत थिए । काउन्सिलले कक्षाका लागि विज्ञका रुपमा नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष तारानाथ दाहाल र काउन्सिलका सदस्य गोपाल बुढाथोकीलाई बोलाएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस